© २०२३
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ५१० युवाले विदेशमै ज्यान गुमाएका छन् ।
विप्रेषणकै भरमा नेपालको आर्थिक अवस्था सुधारोन्मुख भइरहेको बेला नेपालीले विदेशमा ज्यान गुमाउन बाध्य हुनुपर्ने विवशताले चिन्ता उत्पन्न भएको छ । वैदेशिक रोजगारीमा गएका धेरै नेपाली युवाहरू उतै मृत्युवरण गरेर बन्द बाकसमा फर्काइनुपर्ने विवशता साँच्चै कहालीलाग्दो छ ।
वैदेशिक रोजगारीका क्रममा अधिकांशको मृत्युको कारण कार्यस्थलको दुर्घटना र सडक दुर्घटना हुने गरेको छ । कतिपय नेपालीले सुतेकै ठाउँमा मृत्युवरण गरेका छन् ।
मृत्यु हुनेमध्ये अधिकांश सडक दुर्घटना, प्राकृतिक मृत्यु, हृदयाघात र आत्महत्या जस्ता घटनाको ठुलो सङ्ख्या छ । त्यसमाथि मानसिक चिन्ता अर्को ठुलो कारण बनेको छ । नेपालबाट हरेक महिना ६० देखि ७० हजारको सङ्ख्यामा नेपालीहरू विदेश उडिरहेका छन् ।
अव नेपालमै रोजगारी गर्ने र यहीँ आत्मनिर्भर बन्न सकिने अवस्था कहिले आउला ? त्यसो त नेपालीहरू पर्याप्त तालिम, सिप र सुरक्षाको ग्यारेन्टीबिनै वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । यो जोखिम उठाउँदा नेपालीहरू आफै दुर्घटनाको सिकार हुनुपर्ने बाध्यता छ । दैनिक औसतमा चार वटा शव नेपाल फर्किरहेका छन् ।
यो चिन्ताजनक तथ्याङ्कले नेपालको भयानक विगत र वर्तमानको नियति स्पष्ट हुन्छ । भविष्यको सुन्दर सपना देख्ने नेपाली युवाको यो कारुणिक अवस्था अन्त्यका लागि पहल जरुरी छ । पहिलो कुरा त मृत्युको मुख्य कारण पत्ता लगाउने र विदेश जानुभन्दा अघि त्यस विषयमा पर्याप्त सचेतना, तालिम प्रदान गर्नु जरुरी छ ।
वास्तवमै सपनाको संसारमा डुबुल्की मार्दै परिवारको उन्नत जीवनको खुसीमा रमाउँदै विदेश उडेकाहरू यसरी बन्द बाकसमा कैद भएर स्वदेश पकाइँदा आफन्तको मात्रै होइन, सम्पूर्ण नेपालीलाई विक्षिप्त बनाउने गरेको छ ।
वैदेशिक रोजगारी नेपालीहरूका लागि बाध्यता हो । नेपालमा प्रशस्त रोजगारीको अवसर नहुँदा नेपालका लागि वैदेशिक रोजगारी बाध्यता बन्दै आएको छ । अहिले पनि नेपालमा रोजगारी नपाएर लाखौँ नेपाली श्रमिक विदेशी भूमिमा श्रम गर्न बाध्य छन् ।
कहिले द्वन्द्व, कहिले अराजकता, कहिले बन्द–हडताल त कहिले आन्दोलनबाट वाक्क भएर आफू र आफ्नो परिवारको जीविकोपार्जनका लागि नेपाली बिदेसिएका छन् ।
तर, विडम्बना ! कठिन परिश्रम गर्न विवश तिनै नेपालीहरूमध्ये दैनिक पाँच जना नेपाली बन्द बाकसमा कैद हुन बाध्य हुनु चिन्ताको कुरा हो । नेपालमा प्रजातन्त्र आएको ३६ वर्ष हुँदै छ । त्यसयता बनेका दर्जनौँ सरकारले जनताको आशा र विश्वासमाथि कुठाराघात गरिरहेका छन् ।
हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लास भित्रिँदा पनि नेपाली समाज र सरकारलाई नदुख्नु विडम्बना हो । विदेश गएका औसत नेपालीहरू जोखिममा काम गर्न बाध्य भइरहेका छन् ।
अर्कोतर्फ नेपालीले नेपालीलाई लुट्ने, ठग्ने, ढाँट्ने र छलकपट गर्ने र अनेकौँ जालझेल गर्ने क्षेत्रको रूपमा वैदेशिक रोजगारी बदनाम भएको छ । सामाजिक सञ्जालका माध्यमबाट अनेकौँ प्रलोभन दिएर सोझा सिधा नेपालीलाई ठगी गर्ने क्रम फेरी पनि सुरु भएको छ ।
टिकटकका माध्यमबाट आकर्षक रोजगारीको ग्यारेन्टी दिने र नेपालीलाई झुक्क्याउने काम भइरहेको छ । तर, सम्बन्धित निकाय भने मौन बस्ने गरेको छ । अबको दिनमा आम नेपाली जनता यो विषयमा सचेत बन्नैपर्दछ ।
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन सरकारले ढिलाइ गरेको छ । जतिसुकै समृद्धिको सपनाका कुरा गरे पनि सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने कामतर्फ चासो नदेखाएकै हो ।
सरकारले वैदेशिक रोजगारलाई नियमन नगरेसम्म न त वैदेशिक रोजगारीमा जाने क्रम घट्नेछ, न विदेशबाट नागरिकका शव आउने क्रम नै रोकिनेछ । सरकार अव ढिलो भइसक्यो । वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउनेतर्फको पाइला अघि बढाउनैपर्दछ ।