© २०२३
बुटवलबाट हिड्नेबेला विहानको ७ बजिसकेको थियो । कार्तिक अन्तिम सातातिर जाडो पलाउँदै थियो । त्यसैले बाक्लो लुगाले शरीर ढाकेर हिडें । दोभान पुगेर झर्नु पर्ला भनेको थिएँ,ईभी भ्यानमा झुम्सा पुगेर झरें ।
पाल्पा,दोभानबाट राजेश श्रेष्ठको मोटरसाईकिलमा पाल्पा,तानसेनतिर पुग्नु थियो तर धूँवा र धूलोको कारण झुम्सा पुगेर ओर्लेको हुँ । राजेश अध्यक्ष भएको संस्थाले सहयोग गरेर उन्नति, प्रगति गरेका गाउँले साथीका सङ्घर्ष र सफलताको कथा लेख्नु थियो मलाई ।
तानसेनतिर टुँईकिंदा …..
तिनाउ, झुम्सा बजारमा गोविन्द पाण्डेय दाई, सावित्रा दिदी अनि नैना पुरी मेडमसँग भेटघाट, कुराकानी र चियापानी समेत भयो । केहीबेर गोबिन्द दाइसँग वनका बारेमा कुरा भए । संरक्षणमा के, कसरी अघि बढ्ने विषयमा छलफल भो ।
उनी दाई सामुदायिक वन उपभोक्ता महासंघ, तिनाउका अध्यक्ष हुन् । त्यतिञ्जेल राजेश झुम्सामा टुप्लुकिए । गलबन्दी र मास्कको डोरी कानमा अड्याएपछि हुँईकियौ, पाल्पातिर ।
मदनपोखराको शारदा मावि, दमकडा हुँदै माथागढीको प्रवेश एवम् स्वागतद्वारमा पुगियो । सराई, खहरे, रुप्सेतिर पुगेपछि सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पामा कार्यरत् सामाजिक परिचालक मानबहादुर सारुसँग खहरेमा भेट भो । उनले रुप्से रजईपोखरी गाउँको कुटे होटलमा दाल, सोयाबिन,आलु, अचार र अण्डासँग स्याम्म एक थाल भात खुवाए । विपत्तै मिठो थियो ।
भोक मिठो कि भोजन भन्थे तर भोजन नै मिठो थियो । फर्केर हामी माथागढी–२, रुप्से गाउँतिर लागियो । करिव सयजना जति विद्यार्थी पढ्ने कर्णधार माविको गेटमा पुगेर फोटो खिचियो । भ्रमणका लागि शिक्षक–विद्यार्थी सबै गएका रहेछन् । त्यसैले ढोकामा भोटेताल्चा थियो । गतवर्षको एसईईमा सतप्रतिशत् नतीजा ल्याउने माथागढीकै उत्कृष्ट विद्यालय रहेछ । खुसी लाग्यो ।
विद्यालयमा निगरानी समूह ….
रुप्से गाउँकै ज्ञानु रतनसँग भेट्ने अवसर जुर्याे । तीन छोरीकी आमा उनी कर्णधार निगरानी समूहकी अध्यक्ष रहेछिन् । विद्यालयमा आफ्ना विद्यार्थी प्रार्थना समयमा नै पुराउने, शिक्षक– विद्यार्थी उपस्थिति बारे अवलोकन गर्ने, विद्यार्थीका समस्या शिक्षकका माझ पेश गर्ने,शैक्षिक समस्यालाई समाधान गर्न पहल र प्रयत्न गर्ने काम नै उनको निगरानी समूहको रहेछ ।
सुरुसुरुमा विद्यालयमा जान अफ्ट्यारो लागेपनि अचेल सहज भएको उनले सुनाईन् । विद्यालय परिवारको सहयोगी समूह हो निगरानी समूह, उनले भन्दैथिईन् । बातचितपछि बिदा भयौं । उनको हार्दिकताले मनै छोयो ।
वडा नम्बर २ रुप्सेको कार्यालयमा वडासचिव सरस्वती पन्थसँग भेट हुने अवसर मिल्यो । उनी पहिला पाल्पा, कचलको उपस्वास्थ्य कार्यालयमा कार्यरत् थिईन् । समायोजनमा उनी यतै परेकी रहेछिन् । धेरै वर्षपछि भेट्ने अवसर जुर्याे ।
त्यहाँबाट छुटेपछि रुप्से दद्रा, धुमिनडाँडाकी अगुवा पशुपालक रमा घर्तिसँग भेटियौं । उनी लुम्बिनी प्रदेश सरकारकी मन्त्री थिईन् कुनैबेला । अचेल खेती किसानी र पशुपालनमा तल्लीन रहेछिन् । बोक्सादी,रुप्सेका केशबहादुर सारुसँग दमारमा भेटेर खेती किसानीका कुरा गरियो । बंगुर, बाख्रापालन गर्दै अविवाहित जीवन गुजारिरहेका उनले बैदेशिक यात्रा गरिसकेका रहेछन् । हामीले उनलाई भेट्दा खेतबाट धानको बिटा ओसारिरहेका थिए ।
सपनाका सपना सुन्दै….
उनीसँग छुटेपछि सुईक्किएर हामी माथागढी–३, भैंसीकट्टा पुगियो । सपना आलेसँग उनकै निवासमा भेट्यौं । कृषिकर्मका बारेमा विस्तृत कुराकानी गर्याैं । करेला, टमाटर, सेमी, काँक्रा अनि सुन्तला बेचेर वर्षमा चारलाख जति आम्दानी गर्ने कुराले मेरो मन खुसी भयो ।
गाउँमै बसेर जाँगर गर्ने होभने मनग्यै आम्दानी गर्न सकिदो रहेछ । पाँच रोपनी जग्गामा उनले गरेको कृषिकर्म रहर लाग्दो रहेछ । निःशुल्क सुन्तला चाखियो । रसिलो थियो । राजेशले चारथान सुन्तला गजापले तुरे । गणित तिरेर तीन किलो टमाटर झोलामा हालेर तानसेनतिर टुँइकियौं । हामीसँगै गएका मानुलाई एक्लेबर नजिकै रहेको सहारा आधारभूत विद्यालय नजिकै छाडेर ।
तानसेन पुग्न वरै होलाङ्गदीमा रहेको सामाजिक श्रोत विकास केन्द्र– नेपाल, पाल्पाको अपिस पस्यौं । टीमलिडर पीताम्बर बस्यालसँग भेटियो । लेखापाल सुमित्रालाई पनि भेट्ने अवसर मिल्यो । लक्ष्मी पुरीले मनतातो पानी पिलाईन । मनकामना होटलमा आलु परौठा खाईयो र तानसेन बजारतिर लागियो ।
कृष्णका हाक्की कुरा ……
जिल्ला प्रशासन कार्यालय, पाल्पाको कार्यालयतिर पसियो । प्रशासकीय अधिकृत रमा श्रेष्ठसँग दुई चारवटा प्रशासनिक कुरा सोधपुछ गरियो । फरासिली मेडमको सहयोगी भावना सम्मानयोग्य लाग्छ । सिडियो साहेवसँग भेट्ने अवसर मिलेन ।
रमा मेडमको चिया खाने अनुरोधलाई थाँती राखेर बिदा हुनेबेला साँझको पाँच बजिसकेको थियो । पत्रकार कृष्ण कार्कीसँग उनकै कार्यालयमा रमाईला गफ भए । नौजवान पत्रकार कार्की हक्की छन् । मनमा लागेका कुरा प्याट्ट बोल्छन् ।
नेकपा एमालेको पार्टी कार्यालयमा राजेश र म पुग्दा पूर्व माननीयहरू ठाकुर गैरे र नारायण आचार्यहरू कार्तिक २९ गतेको जनप्रदर्शनको तयारीमा जुटेका रहेछन् । पूर्व पार्टी जिल्ला अध्यक्ष देवी बस्यालले सहभागीहरूलाई ठट्टा, रमाईलो गराईरहेका थिए ।
उनले पार्टीको ११ ओैं महाधिवेशनमा प्रतिनिधि छनौट भएर जान पाएमा अध्यक्ष ओलीलाई टक्कर दिने बताउँदै थिए । यो कुराले मलाई पाचक खाने बनायो । उनका कुराले भन्दापनि पत्रकार साथी किरणको फोनले त्यहाँबाट उठ्न बाध्य पार्याे । बर्तुङ्गमा किरण कौशलसँग चियापान गरियो । सामयिक राजनीतिक चर्चा गरियो । देशको विषम परिस्थितिको चर्चालाई तीनजनाले चियासँगै बिट मारियो ।
घ्यूसँग च्याम्म भात….
साँझ परिसकेको बेला सामाजिक श्रोत विकास केन्द्र पाल्पाको अपिसमा गुँड लगाउन पुगियो । लक्ष्मी पुरीले मिठो खाना खुवाईन् घ्यूसँगै । सोयाबिनको छोयला क्या स्वादिलो । त्यसैमा च्याउ । अचारको के बयान गर्नु ? राजेश माथिल्लो तलाको सभा हलमा भूँइतिर बिस्तारामा गुल्टिए ।
म भने पलङमा बसेर नेपाली पर्या साहित्य प्रतिष्ठानको जूम बैठकमा सरिक भएँ । साथीहरू देश–विदेशबाट जोडिएका थिए । बैठकले बेलायत निवासी विजय हितानको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो । म पनि सचिवमा चयन भएको कुरा सुनाउन पाउँदा खुसी छु । प्रा.डा. गोविन्दराज भट्टराई प्रमुख संरक्षकमा छनौट भए ।
बैठक सकिएपछि ओखतीपानी खाएर लम्पसार परेर सुतें । जाडो थियो । सिरक र ब्ल्याङ्केटले जाडो लखट्यो । सखारै उठेर राजेश मर्निङवाक गर्न तानसेनको टुंडीखेलतिर लागे । म भने थर्मशको पानी गिलासमा खन्याएर ओखती खाएँ ।
वन, वातावरणसँगै पानीका कुरा ……
उनी आएपछि डिभिजन वन कार्यालय, पाल्पाका हाकिम साहेव मोहन श्रेष्ठ सरसँग वन, वातावरण र जैविक विविधता संरक्षण सम्बन्धि छलफल गरियो । तात्तातो चिया समेत खाईयो । बिदा भएपछि केन्द्रको अपिस आईयो ।
लक्ष्मीले खाना पकाउँदै रहेछिन् । ताजा र मिठो खाना खाएर पेटलाई भरियो । हामी बगनासकाली गाउँपालिकाको खोरबारीतिर लागियो । चिर्तुङ्गधारा पुगियो । पानीले काकाकूल हुने गाउँलेहरूले सामाजिक विकास स्रोत केन्द्रबाट आर्थिक र प्राविधिक सहयोग लिई करिव ३० घरका दैलामा पानी पुगेको रहेछ । एकैछिनको छलफलमा उनीहरूले पानीको पहुँचले पुराएका फाईदा बताए ।
खेर जाने पानीलाई जम्मा गर्न सकिए, सिंचाईमा समेत सहयोग मिल्ने उनीहरूको तर्क थियो । छुटेपछि पालिका अध्यक्ष सरस्वती चिदीकै निवासमा भेटघाट गरियो । उनीहरूको जिज्ञासा सुनाई दिएँ मैले । उनले टाउको हल्लाईन् मात्र । वडाध्यक्ष शेरबहादुरलाई भेट्न जान पाईएन ।
त्यहाँबाट फर्केपछि राम आधारभूत मावि घोरबन्दा आईयो । अनिता गाहालाई भेटेर उनको जीवनकथा सुनियो । श्रमिक महिला रहेछिन् । उनका दुःखका भवसागर कुनैदिन लेखुँला नि !
माडीफाँट र परानका कुरा ……
ग्राम्य मावि, चिर्तुङ्धारा नजिकै पासा होटलमा हल्का खाजा खाईयो । कृष्टि गाहालाई भेट्ने समय पुगेन । तानसेन आएर केहीबेर बसियो । यात्राभरि मिहिनेती किसानका पौरख देखियो । रमाईलो र घमाईलो गाउँ,रहर लाग्दा उत्पादनले मनै तानिरह्यो । माडीफाँटलाई तानसेनबाट विहानपख हेर्दा सिरक ओढिरहेको देखिन्थ्यो ।
तानसेनबाट बुटवल हिड्नेबेला दिउँसोको एक बज्दैथियो । उता बुटवलमा होमबहादुर गलामी दाइले दिउँसो २ वजेका लागि परान फिल्म हेर्न टिकट काटेको खबर पाएपछि यति सुँईकिएम कि थाहै भएन । भाटभटेनीको हलमा पुग्दा सवा दुई बजेर फिल्म सुरु हुनै लागेको रहेछ । फिल्म हेर्दा आँखा ओभाना थिएनन् । हाफछुट्टीमा हलमै मकै र पानीले पेट सेकियो ।
हृदयविदारक फिल्मका संवादहरूले मन खिचिरह्यो । फिल्म तुरियो । तर, रुञ्चे मन हलमै राखेर बाहिर निस्कियौं । संरक्षणकर्मी गंगा पोखरेलको पसलमा चिया पिउन पुग्दा किट्ली बसाल्ने समयको अभावका कारण हाम्रो टोली घरतिर लाग्यो । घर पुग्दा साँझको पाँच बजिसकेको थियो ।