© २०२३
बुटवल, १३ मंसिर ।
युवाहरुलाई स्वदेशमा नै सीप सिकाएर उद्यमील बनाउदै आएको लुम्बिनी वारिष्ठा एण्ड हस्पिटालिटी ट्रेनिङ सेन्टरले ९ वर्षको अवधिमा ५ हजार युवालाई सीप सिकाउन सफल भएको छ ।
शनिबार नवौँ वार्षिकोत्सवको अवसरमा गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा संस्थाका म्यानेजिङ डाइरेक्टर शंकर शर्माले अन्तराष्ट्रियस्तरकै पुर्वाधार र प्रशिक्षकहरुबाट ५ हजार बढी यूवालाई स्वरोजगार बनाउन सफल भएको दाबी गरे ।
तालिमसँगै यो वर्षदेखी संस्था पहाडको बाझो जमिनमा कफी खेती गर्ने तयारीमा समेत लागेको उनले बताए । गाउँमा पुगेर विज्ञहरुलाई समेत साथमै लगेर किसानलाई कफी खेती कसरी सुरु गर्ने, विरुवा उमार्ने, मल–पानी व्यवस्थापन, रोग–कीट नियन्त्रणदेखि रेड चेरी संकलन र प्रशोधनका व्यवहारिक सीपसमेत दिने उनले बताए ।
कम्पनीले कफी जोनका रुपमा विकास भइरहेको गुल्मीको मुसिकोट नगरपालिकाको आँपचौरमा त्यहाँका किसानसंग सहकार्य गरेर कफीको खेती, नर्सरी, चेरी संकलन, ग्रेडिङ र प्रशोधन गर्दै आएको छ । यसलाई विस्तार गरेर केही वर्षमै कफीका एक लाख विरुवा बनाउने योजना रहेको उनले बताए ।
नेपालमा अहिले पनि हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति अभाव रहेको उनले बताए । अर्कोतर्फ नेपालमा माग अनुसार कफी उत्पादन नहुँदा बिदेशबाट वर्षेनी करोडौँ मुल्यको कफी आयात भइरहेको छ । नेपालमा हाल १०६ टन उत्पादन र १८०० मेट्रिक टन खपत हुदै आएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष सुर्य जिसीले अहिले १२ जना प्रशिक्षकले वारिष्ठा, बेकरी र सुसीको बेसीक, एडभान्स र प्रोफेशनल तालिम दिदै आएको बताए । तालिमलाई व्यावसायिकतासँग जोड्दै रोजगारीमुखी बनाउने लक्ष्य रहेको उनले बताए ।
कम्पनीमा लक्ष्मी रिजाल, सन्तोष बुढागगर र प्रकाश थापा पनि आबद्ध छन् भने विभिन्न विषयमा १२ जना प्रशिक्षकहरुले सीप सिकाइरहेका छन् । कम्पनीले तिलोत्तमाको मणिग्राम, भैरहवा र कपिलवस्तुको जितपुर चार नम्बरमा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ ।
स्थापना दिवसको अवसरमा तालिम लिइरहेका बिद्यार्थीहरुबीच वारिष्ठा, बेकरी र सुसी बनाउने प्रतियोगिता समेत गरिएको छ ।