© २०२३
काठमाडौँ ।
पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले सिद्धार्थ बैक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘कमब्याक’ गरेको छ।
शनिबार भएको पहिलो खेलमा पोखरालाई तीन विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफ सम्भावना जिवित राखेको हो। लुम्बिनीसँगको हारले पोखराको प्लेअफको बाटो कठिन भएको छ।
पोखराले अब प्लेअफ खेल्न बाँकीका दुई खेल जित्नैपर्ने हुन्छ। लुम्बिनीले भने अब बाँकी दुई खेल जितेमा प्लेअफको यात्रा सहज हुनेछ।
लुम्बिनीले पाँच खेलमा दुई खेल जितेको छ भने तीन खेलमा हार भागेको छ। लुम्बिनीले अब विराटनगर किंग्स र जनकपुर बोल्ट्ससँग प्रतिस्पर्धा गर्नेछ।
पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले २ बल बाँकी छँदा ७ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४० रन बनाए ।
रोहितले निरोधन डिक्वेलासँग तेस्रो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए । डिक्वेला ३७ रनमा आउट भएका थिए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भए । सन्दीप जोरा २५ रनमा अविजित रहे ।
बलिङमा पोखराका विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुईदुई विकेट तथा जिम्मी निशमले एक विकेट लिए । त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनाएको थियो । पोखराका लागि ओपनर एडम वासिङटन र जिम्मी निशमले उत्कृष्ट ब्याटिङ गरे ।
किरणकुमार ठगुन्ना एक रनमा अविजित रहे । बलिङ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईदुई विकेट लिए । गुल्ददिन नाइवले एक विकेट लिए । लुम्बिनीले लगातार तेस्रो हारपछि जित निकालेको छ । पोखराले भने एनपीएलमा तेस्रो हार बेहोरेको छ ।