© २०२३
सल्यान, १३ मङ्सिर ।
पछिल्लो समय सल्यानमा ४० बढी विद्युतीय गाडी (ईभी) भित्रिएका छन् ।
अझै धेरै सङ्ख्यामा ईभी थपिने क्रम रहेको यातायात प्रालिहरूले जनाएका छन् । ग्रामीण तथा पहाडी क्षेत्रमा पनि ईभीको सफलता देखिएको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरू तथा यात्रुहरूमा पनि ईभीप्रति आकर्षण बढेको पाइन्छ ।
जिल्ला ट्राफिक कार्यालय सल्यानका अनुसार सल्यानबाट केही दिन अघिसम्म ४० बढी विद्युतीय गाडी सञ्चालन भइरहेका थिए । केही समय पहिलेको विवरण अनुसार सल्यानमा ४० वटा ईभी, बस तथा फोर्स गाडी ८७ वटा, जीप २६ वटा तथा ७० देखि ७५ को सङ्ख्यामा अटो सञ्चालनमा रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक सरोज चौधरीले बताए ।
पहाडी क्षेत्रको भौगोलिक अवस्थाले गर्दा सुरुमा ईभी गाडी सहज रूपमा चल्न सक्ने या नसक्ने भन्ने अन्यौलता रहेकोमा पछिल्लो तथ्यांकले सल्यानमा पनि ईभीको प्रयोग सफल देखिएको हो ।
ग्रामीण तथा पहाडी क्षेत्रमा पनि ईभीको सफलता देखिएको व्यवसायीहरू बताउँछन् । सल्यान रुकुम यातायात प्रालिमा मात्र २० वटा ईभी आवद्ध भएर नियमित सञ्चालन भइरहेका छन् ।
प्रालिका अध्यक्ष अरविन्द कुमार राईले आफ्नो प्रालिमा ईभी भित्रिएको ढाई वर्ष बढी भैसकेको बताए । ईभी सञ्चालनमा असहजता नभएको र इन्धन खर्च पनि कम हुने भएकाले यसप्रति आकर्षण देखिएको उनको भनाइ छ ।
ईभीले इन्धन खर्च कम गरेर यातायात व्यवसायीलाई राहत दिएको र यात्रुहरूलाई सस्तो र आरामदायी सेवा प्रदान गरेको यातायात प्रालिहरू बताउँछन् । प्रदूषणरहित हुँदा पर्यावरण संरक्षणमा पनि टेवा पुगेको र शान्त र आरामदायी यात्राका कारण यात्रुहरूको रोजाईमा विद्युतीय गाडी पर्ने गरेको देखिन्छ ।
जिल्लाका विभिन्न गाउँमा पनि यी गाडीहरू सञ्चालन हुने गरेका छन् । यातायात व्यवसायीहरू ईभीतर्फ आकर्षित हुँदै गएकाले छिट्टै जिल्लामा ईभीको सङ्ख्या दोब्बर हुने अनुमान छ ।
“यहाँका बाटोमा पनि सफलतापूर्वक चलिरहेका छन्”, अध्यक्ष राईले भने, “अझै हाम्रो समितिमा तत्काल २० देखि २५ को सङ्ख्यामा थपिने तयारी छ ।” यद्यपि नयाँ ठाउँमा चार्जिङ स्टेसन राख्नका लागि विद्युत् आपूर्ति र भोल्टेज स्थिरतामा समस्या भएको कुरा आइरहेको भन्दै राईले यसको समाधान आवश्यक रहेको बताए ।
नेपालमा महिन्द्रा इटुओ, बीवाईडी, किया निरो, एमजी जेटएस, हुन्डाई कोना, आयोनिक, टाटा नेक्सन ईभी र निसान लिफ जस्ता विद्युतीय गाडीहरूको बिक्री वितरण तीव्र गतिमा भइरहेको बताइएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार गत साउनदेखि कात्तिकसम्म विभिन्न देशबाट नेपालमा ठुलो सङ्ख्यामा विद्युतीय गाडी ल्याइएको छ । चालू आर्थिक वर्षको चार महिनामा चीन, भारत, थाइल्यान्ड, कोरिया, बेलायत र अमेरिकालगायतका देशबाट विभिन्न प्रकारका ईभीनेपाल भित्रिएको विभागले जनाएको छ ।