© २०२३
बुटवल, १३ मङ्सिर ।
केही सञ्चालकहरूको गलत मनसायकै कारण समस्यामा आएको सहकारीकै कारण समग्र सहकारी क्षेत्रको बदनाम भएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले गुनासो गरेका छन् ।
जागरूक बचत तथा ऋण सहकारी लिमिटेड १८ औँ वार्षिक साधारण सभामा बोल्ने वक्ताहरूले केही गलत मनसाय बोकेका सहकारी सञ्चालकहरूको कारण सबै सहकारीप्रति एउटै दृष्टिकोण बनाएर डालोमा राख्न नहुने बताए ।
संस्थाको ज्येष्ठ सदस्य मोहन पाण्डेले पानसमा दीप बालेर कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै अध्यक्ष भिमलाल भट्टराईले १८ वर्ष अगाडी स्थापना भएको जागरूक सहकारी समाज परिवर्तनको दीर्घकालीन लक्ष्यका लागि पुजी निमार्णका लागि सहकारीले खेल्नुपर्ने भूमिका नीति र विधिमा रहेर निभाएको बताए ।
संस्थाले शेयर सदस्य तथा कर्मचारीहरूको क्षमता अभिवृद्धि र सेवा प्रभावमा कुनै कमी हुन नदिएको जानकारी दिए । राम्रा काम गर्दै आएका सहकारीहरू पनि गलत आर्थिक कारोबार गर्ने सहकारीकै रूपमा हेरिएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थापक अध्यक्ष खगेन्द्र शर्मा रेग्मी, सल्लाहकार ज्योति भण्डारी, पूर्व अध्यक्ष लक्ष्मण बस्याल, उपाध्यक्ष श्यामप्रसाद पाण्डे, सचिव कृष्ण प्रसाद पोखरेलले समुदायबाट चलाएको र नीति तथा विधिमा रहेका सहकारीहरूमा कुनै समस्या नआउने दाबी गरे ।
उक्त वार्षिक साधारण सभामा प्लस टु र अन्य विभिन्न तहमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी तथा सहकारीका सदस्यहरूका छोराछोरी, ज्येष्ठ नागरिक, असल बचत कर्ता र असल ऋणीलाई सम्मान गरिएको थियो ।
संस्थामा हाल कुल ८ सय ६९ जना शेयर सदस्य रहेकोमा ४ सय ३ जना महिला सदस्य रहेको सचिव पोखरेलले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल शेयर पुजी १ करोड ५२ लाख ७१ हजार, कर्जा प्रवाह १२ करोड, २८ लाख ४६ हजार रहेकोमा निक्षेप सङ्कलन १३ करोड रहेको व्यवस्थापक सुन्दर रेग्मीले जनाएका छन् ।
यसै गरी जगेडा कोषमा ७२ लाख, अन्य कोषमा २५ लाख तथा जोखिम कर्जा कोषमा १८ लाख रकम रहेको छ । संस्थाले भावी कार्यक्रमका रूपमा म मेरो घर र मेरो साथी अभियान अन्तरगत १ शेयर सदस्य बराबर १ नयाँ सदस्य बनाउने काम गर्ने जनाएको छ ।