© २०२३
बुटवल, १२ मंसिर ।
नेकपा एमालेभित्र आसन्न महाधिवेशनलाई लिएर लुम्बिनी प्रदेशभरि प्रतिनिधि छनोटको हलचल तीव्र बन्दै गएको छ । शीर्ष नेताहरूको सबैभन्दा ठूलो उपस्थिति यहीँ प्रदेशमा भएकाले धेरै जिल्लामा आकांक्षीको संख्या कोटाभन्दा धेरै गुना बढी देखिन्छ । उपाध्यक्ष विष्णुप्रसाद पौडेल र युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू गोकर्ण विष्ट, छविलाल विश्वकर्मा तथा निलम्बित सचिव टोपबहादुर रायमाझी समेत यहीँ प्रदेशबाट प्रतिनिधित्व गर्ने भएकाले नेतृत्व–निकट कार्यकर्ताहरू प्रतिनिधि बन्न प्रतिस्पर्धामा उत्रिएका छन् ।
पोलिटब्यूरो र केन्द्रीय कमिटीमा मात्र झण्डै ६० जनाभन्दा बढी लुम्बिनीका प्रतिनिधि सक्रिय छन् । विभिन्न आयोगमा पनि १० जनाको उपस्थिति हुँदा धेरै नेताहरू आफ्ना मनपर्ने कार्यकर्तालाई महाधिवेशन प्रतिनिधि बनाउन इच्छुक देखिन्छन् । यही कारण विभिन्न जिल्लामा बढी उम्मेदवारी दर्ता भएको र छानोट प्रक्रिया जटिल बन्दै गएको एमालेभित्र स्रोतले जनाएका छन् ।
लुम्बिनीका धेरै जिल्लामा सहमतिमा प्रतिनिधि टुंग्याउने प्रयास हुँदैछ । तर, कोटा सीमित र आकांक्षी धेरै भएकाले अधिकांश जिल्लामा अन्ततः निर्वाचनमै गएर प्रतिनिधि छनौट गर्ने तयारी भएको एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले बताए । उनका अनुसार ‘समूहगत’ भिडन्त भएको भनेर बाहिर चर्चा भए पनि वास्तविकता त्यस्तो छैन । सामान्य प्रतिस्पर्धालाई समूहगत विभाजन भन्न नहुने उनको तर्क छ ।
हालसम्म रुकुमपूर्वलगायत विभिन्न जिल्लाका केही निर्वाचन क्षेत्रमा मात्रै सर्वसम्मत टुंगो लागेको छ । एमाले रुकुमपूर्वका अध्यक्ष लीलामणि गौतमका अनुसार जिल्लाबाट ५ जनाको प्रतिनिधिका लागि सबै क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि छनौट भएका हुन् ।
युवा, महिला र दलितमा बिहीबार नै सर्वसम्मत भएको थियो भने खुलामा पनि शुक्रवार सर्वसम्मत गरिएको गौतमले जानकारी दिए । यहाँबाट खुलातर्फ नन्दलाल शर्मा र बागलाल बुढामगर, युवातर्फ लीलामणि गौतम, महिलातर्फ, भावना बुढाथोकी र दलिततर्फ गोपालप्रसाद सुनार छनौट भएका हुन् । प्यूठानमा पनि सहमतिमा टुंगो लगाउने जिल्ला सचिवालयको निर्णय रहे पनि आकांक्षी धेरै भएकाले सहमति कठिन बनेको एमाले नेता गिरु भण्डारी बताउँछन् ।
अन्य धेरै जिल्लामा सर्वसम्मतको प्रयास भइरहेको भए पनि मनोनयन दर्ता गराउनेको संख्या कोटाभन्दा तेब्बर बढी भएपछि प्रतिस्पर्धा अपरिहार्य देखिएको पार्टी प्रचार विभाग प्रमुख डिआर घिमिरेको भनाइ छ । उनले यसपटक महाधिवेशनमा जान इच्छुकहरू धेरै भएकाले प्राथमिकताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताउँदै केन्द्रमा नगएकालाई मौका दिनुपर्ने मत राखे ।
प्रदेशमा केन्द्रीय राजनीतिक समूहभन्दा स्थानीय तहमा बनेका प्यानलहरू सक्रिय भएको देखिन्छ । महाधिवेशन प्रतिनिधि जित्न केन्द्रको लाइनभन्दा पनि स्थानीय गठबन्धन प्रभावकारी भएको नेताहरूको भनाइ छ । बाँकेका विष्णु वेल्वासेले जिल्लास्तरमा ठूलो विवाद नभएकाले धेरै ठाउँमा सहमतिबाटै समाधान खोजिने दाबी गरे ।
यसपटक लुम्बिनीबाट सबैभन्दा धेरै प्रतिनिधि रुपन्देहीमा छनौट हुनेछन् । पाँच निर्वाचन क्षेत्र भएको रुपन्देहीलाई ३४ जनाको कोटा तोकिए पनि १६४ जनाले मनोनयन दर्ता गराएका छन् । मनोनयन फिर्ता गर्ने अवस्था न्यून रहेकाले अन्ततः प्रतिस्पर्धाबाटै टुंगो लगाउनुपर्ने एमाले प्रचार विभाग प्रमुख मीनप्रसाद पौडेलले बताए । यद्यपि रुपन्देही क्षेत्र नम्बर ३ र ५ बाट सर्वसम्मत प्रतिनिधि चयन भएको एमाले नेता खिमलाल भट्टराईले बताए ।
एमालेले लुम्बिनीबाट कुल १९० जना प्रतिनिधि पठाउनेछ । त्यसमा ७ जना मजदुर, ५ जना प्रदेश कमिटी र १२ जिल्लाबाट १७८ जनाको कोटा निर्धारण गरिएको छ । कोटाअनुसार दलित १९, युवा २६, महिला ५३ र खुला ८० प्रतिनिधि तोकिएका छन् । जिल्लागत कोटा हेर्दा रुपन्देही ३४, दाङ २२, गुल्मी २०, बाँके १५, बर्दिया १५, कपिलवस्तु १५, पाल्पा १४, अर्घाखाँची १३, पश्चिम नवलपरासी ११, प्यूठान ८, रोल्पा ६ र रुकुमपूर्व ५ रहेको छ ।