© २०२३
काठमाडौं, १२ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावमा एक थोपा पनि रगत नबग्ने गरी र एक जना पनि घाइते नहुने गरी काम गर्न नेपाली सेनालाई निर्देशन दिएकी छिन् ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमणपछि उनले यस्तो निर्देशन दिएकी हुन् । सो क्रममा उनले निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनु हुँदैन । यसअघिका चुनावको अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँग समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु ।’
उनीँले जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका गतिविधिहरूलाई अवरोध बिना सञ्चालन गर्न स्पष्ट कार्ययोजनासहित अघि बढ्न निर्देश दिएकी छिन् ।
साथै, जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तथा नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गर्न र स्थिति सामान्य पार्न, फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न कुनै कसर बाँकी नराख्न पनि उनले आग्रह गरिन् ।
यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो । साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे प्रस्तुतीकरण पनि गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति–सुरक्षा बहाल गर्दै यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै, निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनाले प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिती थियो ।