Butwal Today
एनपीएल

काठमाडौं गोर्खाजले चितवन राइनोजलाई १४३ रनको लक्ष्य प्रस्तुत

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

सोहेल तनविरको घातक बलिङमा काठमाडौ गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजअघि जितका लागि १ सय ४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राइनोजले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको काठमाडौ २ बल बाँकी रहँदै १ सय ४२ रनमै अलआउट भयो ।

चौथो विकेटका लागि जोन सिमसन र मिलिन्द कुमारले ९८ रनको साझेदारी गरेपछि काठमाडौले सम्मानजनक योगफल तयार पार्ने संकेत देखिएको थियो । यद्यपि रवि बोपाराले यी दुईको साझेदारी टुटाएपछि काठमाडौको लगातार विकेट पतन हुन थाल्यो ।

१६ औँ ओभरको अन्तिम बलमा मिलिन्द कुमार ३८ रन बनाएर रवि बोपाराको बलमा बोल्ड आउट भए । उनले ४३ बलमा ५ चौका प्रहार गरे ।

१७ औँ ओभरको पहिलो बलमा जोन सिमसन ६० रन बनाउँदै कमल सिंह ऐरिको बलमा सैफ जैवका हातबाट क्याच आउट भए । जोनले २९ बलमा ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

काठमाडौ एक समय ४.२ ओभरमा ३–२४ को अवस्थामा थियो । त्यसपछि क्रिजमा आएका जोन र मिलिन्दले पारी सम्हालेका हुन् । तर काठमाडौले त्यसपछि केवल ११ रन जोड्दा ६ विकेट गुमायो ।

ओपनर वेन चाल्र्सवर्थले १४ बलमा २ चौकाको मद्दतमा १३ रन बनाए पनि उनी सोहेल तनविरको बलमा रवि बोपाराका हातबाट क्याच आउट भए । अन्य ब्याटरहरू दोहोरो अंकमा प्रवेश गर्न असफल रहे ।

चितवनका लागि सोहेल तनविरले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । उनले १८ औँ ओभरमा लगातार तीन विकेट लिएपछि काठमाडौको ब्याटिङ लाइन धरापमा पर्‍यो । सोहेलले आफ्नो स्पेलमा २५ रन खर्चे । रन्जित कुमार र कमल सिंह ऐरिले समान २–२ विकेट लिए भने रवि बोपाराले १ विकेट लिए ।

चितवन राइनोज केहीबेरमा लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रनेछ ।