© २०२३
काठमान्डौ, १२ मंसिर ।
नेपाल प्रहरीमा दरबन्दी हेरफेर तथा संगठनात्मक सुधार गर्न सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) थालिएको छ । मन्त्रिपरिषद्ले मङ्सिर ८ मा प्रहरीको ओएण्डएमका लागि पूर्वस्वीकृति प्रदान गरेको थियो भने गृह मन्त्रालयले हाल यसको काम सुरु गरेको छ ।
गृह मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा ओएण्डएम समिति गठन गरिएको छ । समितिमा प्रहरीका डीआईजी दीपक रेग्मी, अर्थ मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि सदस्य रहेका छन् ।
ओएण्डएमअन्तर्गत, नेपाल प्रहरी केनाइन कार्यालय र सवारी महाशाखामा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को दरबन्दी जनपद समूहतर्फ स्थानान्तरण गरिँदैछ । हाल कार्यरत अधिकृतहरू तत्काल एसएसपीमा बढुवा हुने अवस्था नभएकाले, पछि सोही युनिटमा फिर्ता गरिने गरी दरबन्दी स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, नेपाल प्रहरी अस्पतालमा डीएसपी र एसपीको दरबन्दी समायोजन गरिँदैछ । अस्पतालभित्र अन्य तहको दरबन्दी कटौती गरेर डीएसपी र एसपीको दरबन्दी बढाउने गरी ओएण्डएमको प्रक्रिया अघि बढाइएको छ । एमबीबीएस गरेका चिकित्सकहरू लामो समय इन्स्पेक्टर पदमा रोकिनुपर्ने बाध्यता हटाउन यस कार्यलाई आवश्यक मानिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरीको फरेन्सिक विज्ञलाई प्रहरी प्रधान कार्यालयको फरेन्सिक ल्याबमा स्थानान्तरण गरिनेछ । आयोगमा निजामती कर्मचारीले काम सुरु गरेसँगै सो दरबन्दी प्रहरीमा फिर्ता ल्याउन लागिएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका कर्मचारीलाई पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा स्थानान्तरण गर्न लागिएको छ । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा राखेपछि आर्थिक अपराध अनुसन्धानका लागि प्रहरीमा छुट्टै महाशाखा गठन गरिएको थियो ।
गृह मन्त्रालयले प्रस्ताव गरेको नयाँ ब्युरोको नाम ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्युरो’ राखिने तयारी छ । सहसचिव पराजुली नेतृत्वको समिति ओएण्डएम पूरा गरेसँगै प्रस्ताव अर्थ मन्त्रालयमार्फत मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने कानुनी व्यवस्था छ ।
ओएण्डएम प्रक्रियापछि सम्पत्ति शुद्धीकरण, आतङ्कवादी लगानी र अन्य आर्थिक अपराध अनुसन्धानलाई व्यवस्थित रुपमा अघि बढाउन सकिने र सीआईबी मातहत गठन भएको महाशाखाले प्रारम्भिक काम सम्हाल्ने प्रहरीले जनाएको छ ।