नेपालगन्ज, १२ मङ्सिर ।
नेपालगन्जको बसपार्कबाट प्रहरीले एक थान पेस्तोल र गोली बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार गस्ती टोलीले एउटा पेस्तोलसहित म्यागेजिन र दुई राउन्ड गोली फेला पारेको हो । पेस्तोल कसले ल्याएको वा प्रयोग गरेको हो भन्ने कुरा स्पष्ट भइसकेको छैन ।
तर शङ्का लागेका आधारमा बसपार्क क्षेत्रमै एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । बरामद हातहतियार सम्बन्धी विस्तृत छानबिन भइरहेको पातलीले जानकारी दिए ।
नेपाल–भारत सीमा नाका र जिल्लाभरका शङ्कास्पद स्थानहरूमा निगरानी थप कडा बनाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
अवैध आयात, लागु औषध कारोबार र अवैध हातहतियार नियन्त्रणका लागि विशेष अभियान सञ्चालन भइरहेको कार्यालय प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले बताए । आगामी निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गराउने तयारी स्वरूप देशभर सुरक्षा सतर्कता उच्च बनाइएको प्रहरीले जनाएको छ ।