Butwal Today

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक नयाँ बानेश्वरमा

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, १२ मंसिर ।

नेपाली कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको बैठक अहिले नयाँ बानेश्वरमा बसिरहेको छ । महाधिवेशनसम्बन्धी विवादबारे धारणा बनाउने उद्देश्यले ६० बढी केन्द्रीय सदस्यहरू नयाँ बानेश्वरस्थित आनन्दभूमि पार्टी प्यालेसमा जम्मा भएका छन् ।

बिहान १० बजेदेखि सुरु भएको बैठकमा सीता गुरुङ, कान्तिका सेजुवाल, नृप वड, उर्मिला नेपाल केसी, डा। रणबहादुर रावल, विद्या तिमिल्सिना, राधा घले, गुरु बराल, गोमाकुमारी भट्राई, रमा कोइराला पौड्याल, सिता देवकोटा, शान्ति विक परियार, रुपा विक लगायतका केन्द्रीय सदस्यहरू सहभागी छन् ।

शुक्रबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक आइतबारका लागि सारिएपछि त्यसबारे पनि बैठकमा छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

कांग्रेसमा १५औँ महाधिवेशन फागुन २१ गतेका लागि तोकिएको छ । महाधिवेशन निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विवाद छ । संस्थापन पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्ने सुझाव राख्दै आएको छ । आजको बैठकले निर्वाचनपछिका महाधिवेशनको पक्षमा सहमति जुटाउने र आवाज बलियो बनाउने प्रयास गरिरहेको छ ।