© २०२३
नेपालगञ्ज, १२ मंसिर ।
नेपालमा पछिल्ला वर्षहरूमा बिमाको पहुँच उल्लेख्य रूपमा बढेको छ । आर्थिक वर्ष २०७५÷७६ मा १७ प्रतिशत मात्र रहेको जीवन बिमाको पहुँच आर्थिक वर्ष २०८२÷८३ को असोजसम्म आइपुग्दा ४९.०५ प्रतिशत पुगेको नेपाल बिमा प्राधिकरणको ताजा तथ्याङ्कले देखाउँछ ।
नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको तथा नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा नेपालगञ्जमा विहीवार सम्पन्न पत्रकारबिच बिमा विषयक अन्तक्र्रिया तथा छलफल कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शिवराज विसीले यो तथ्यांक सार्वजनिक गरेका हुन् ।
विसीका अनुसार लुम्बिनी प्रदेशमा मात्रै ११ लाख सक्रिय बिमालेख रहेका छन् र तिनबाट ७ अर्ब ४३ करोड रुपैयाँ प्रिमियम संकलन भएको छ । उनले नेपाल बहुआयामिक जोखिममा रहेको उल्लेख गर्दै देश जलवायु परिवर्तनको जोखिममा १०औँ, भूकम्पीय जोखिममा ११औँ, मिश्रित विपद् जोखिममा १६औँ तथा बाढी–पहिरो जोखिममा ३०औँ स्थानमा रहेको जानकारी दिए ।
कार्यक्रममा सहभागी पत्रकारहरूले बिमाबारे समाजमा अझै केही नकारात्मक धारणा रहेको र धेरैले बिमालाई आवश्यकता नभई बाध्यताको रूपमा बुझ्ने गरेको अनुभव सुनाए । उनीहरूका अनुसार बिमा साक्षरता बढाउन सके बिमाको पहुँच अझै विस्तार गर्न सकिने छ ।
नेपाल बिमा प्राधिकरण बुटवल कार्यालयकी निर्देशक जमुना अर्याल आचार्यले पत्रकारसँगको अन्तत्र्रिmया बिमाको वास्तविक अवस्था बुझ्न र सुधारका सुझाव संकलन गर्न गरिएको बताइन् । उनले बिमाबारे जनस्तरमा सचेतना फैलाउन मिडियाको भूमिका निर्णायक हुने भन्दै पत्रकारहरूको रचनात्मक सहकार्य अपेक्षित रहेको जनाइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले नेपालमा बिमाको दायरा र बुझाइ दुवै बढ्दो क्रममा रहेको बताए । सार्वजनिक सेवा प्रसारण नेपाल तथा नेपाल टेलिभिजन कोहलपुरका प्रमुख निराजन खनालले बिमाको महत्व, मोडालिटी र फाइदाबारे जनतालाई निरन्तर जानकारी दिन आवश्यक रहेकोमा जोड दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले बिमालाई केवल बचत मात्र नभएर सुरक्षित भविष्यको आधारका रूपमा बुझाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले आर्थिक क्षतिको भरपाई र सुरक्षामा बिमाको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी बाँकेका अध्यक्ष सिद्धान्तजंग शाहसहित पत्रकार निरज गौतम, शंकर खनाल, शरण कर्माचार्य, करुणा शाह, सावित्री गिरी, माधव अधिकारी, लोकनाथ शर्मा, बैकुण्ठ प्रसाद अधिकारी लगायतले बिमासम्बन्धी आफ्ना अनुभव, सुझाव र अभिमत राखेका थिए । कार्यक्रमको सहजीकरण नेपाल बिमा प्राधिकरण बुटवलका बलराम गिरीले गरेका थिए । कार्यक्रममा नेपालगञ्जमा क्रियाशील विभिन्न बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति थियो ।