Butwal Today

पहाडमै जन्मिएको ‘किवी साम्राज्य’

१२ मंसिर २०८२, शुक्रबार
अ+
अ-

बुटवल, १२ मंसिर ।

रोल्पाको गंगादेव गाउँपालिका–३, जिनावाङ चामी । उकालो बाटो, पहाडी चिस्यान र ढुंगामाटो- अधिकांशले खेतीको सम्भावना कम आँक्ने यही स्थानमा ६२ वर्षीय इन्द्रबहादुर खत्रीले जीवनभरको मेहनत खन्याएर किवीको साम्राज्य उभ्याए । २०४४ सालमा स-साना तरकारी रोपेर सुरु भएको उनको कृषियात्रा आज वार्षिक करिब १० लाख रुपैयाँ आम्दानी दिने क्षेत्रमा रूपान्तरित भएको छ ।

उनको किवीका बोटहरूको कथा पनि त्यत्तिकै रोचक छ । लगभग ३४ वर्षअघि भारतका एक कृषि प्राविधिक जिनावाङ पुगे । पहाडको हावापानी किवी खेतीका लागि उत्तम हुने सुझाव सुनेपछि इन्द्रबहादुरले विश्वास गरे- त्यही विश्वासका प्रतिफलस्वरूप भारतबाट पठाइएका १० वटा बिरुवामाथि उनले आफ्नो भविष्य रोपे । “सुरुमा कसैले पत्याएन,” उनी सम्झिन्छन्, “हिमाञ्चलबाट बोट ल्याएको भनेर धेरैले हाँसोमा उडाए पनि ।”

तर आज उनीसँग ३ हजारभन्दा बढी किवीका बोट छन्, खेती १०५ रोपनीमा फैलिएको छ, र वार्षिक उत्पादन ८०—९० क्विन्टल पुगेको छ ।

द्वन्द्वको चोट र पुनः उभार

सशस्त्र द्वन्द्वको क्रममा उनी बिस्थापित हुनुप-यो । वर्षौंदेखि हुर्काइरहेका किवीका बोटहरू हेरचाहविहीन भए । तर शान्ति प्रक्रियापछि २०६३ सालमा गाउँ फर्किएपछि उनले फेरि मिहिनेतको बाटो समाते । “बगैँचा माली खोज्दैछ जस्तो देखिन्थ्यो,” उनी भन्छन्, “फर्केपछि फेरि जीवन दिन थालें ।”

तेस्रोपटक सुरु भएको यही संघर्षले इन्द्रबहादुरलाई प्रदेशकै उत्कृष्ट किवी किसान बनायो । आज लुम्बिनी प्रदेशमा उनका किवीबारी पहिलो नम्बरमा परेका छन्, देशभर चौथो स्थानमा ।

ढुंगामाटोमा फलामे पोल, ३० लाखको लगानी

किवी रोपेर मात्र फल्दैन । बोटले टिक्न फलाम वा सिमेन्टका पोल चाहिन्छ । प्रत्येक पोलको लागत २२ सय रुपैयाँ र हरेक बिरुवा १५० रुपैयाँ । “अहिलेसम्म ३० लाखभन्दा बढी लगानी लागिसक्यो,” उनी खुलाउँछन् ।

नेपाल बैंक लिमिटेडबाट प्राप्त १० लाख सहुलियत कर्जा र आफ्नै २० लाख लगानीले उनलाई आधुनिक किवीबारी विस्तार गर्न मद्दत ग-यो । यता तीन जना कामदारको वार्षिक खर्च मात्र २ लाख रुपैयाँ पर्छ । तर उत्पादन बढेसँगै आम्दानी पनि बढ्दै गएको छ ।

किवीसँगै उनी वार्षिक ४० क्विन्टल आलु, ५० क्विन्टल बन्दा तथा स्याउ र ओखर पनि उत्पादन गर्छन् । देशका प्रमुख बजार– काठमाडौं, पोखरा, बुटवल, दाङ, धनगढी सबैतर्फ उनको किवी पुग्छ । “७७ वटै जिल्लामा मेरो नाम पुग्यो,” उनी गौरवपूर्वक भन्छन्, “कृषिले मेरो पहिचान बदलेको छ ।”

कृषि इन्द्रबहादुरको मात्र क्षेत्र होइन, परिवारकै पहिचान बनेको छ । श्रीमती ओत्री खत्री बारीमै उनको दायाँ-बायाँ हात बन्न पुग्छिन् ।

अवलोकन गर्नेको भीड

उनको किवीबारी हेर्न तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, जोखबहादुर महरा, कृषि प्रमुखदेखि किसान समूह– हालसम्म ३ सयभन्दा बढी व्यक्ति आएका छन् । तर सरकारी सहयोग भने उनले कहिल्यै पाएका छैनन् ।
“सहयोगभन्दा मिहिनेत बढी काम लाग्छ,” उनी भन्छन्, “समस्या देखे समाधान खोज्नुपर्छ ।”

हालैमात्र खत्रीको कृषि फार्म अवलोकन गर्न पुगेका नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेश कार्यालय बुटवलका प्रमुख अर्जुनबहादुर कंडेलले खत्रीले सञ्चालन गरेको किवी फार्म साँच्चिकै नमूना र उदाहरणीय रहेको बताए । “उहाँले बैंकबाट सहुलियत कर्जा ल्याएर सही सदुपयोग गर्नुभयो, कर्जाको सही सदुपयोग हुँदा सफल भइन्छ भन्ने यो एउटा उदाहरण हो”-उनले भने ।

किवीलाई आवश्यक हावापानी

उनी भन्छन्कि-वी खेतीका लागि १२ सयदेखि २४ सय मिटरको उचाइ उपयुक्त हुन्छ, तर १६–१७ सय मिटर सर्वश्रेष्ठ मानिन्छ । जिनावाङ त्यही उचाइमा बसेको छ ।

३५ डिग्रीभन्दा बढी तापक्रम नहुने, तुषारो कम पर्ने र चिस्यानयुक्त माटो हुने ठाउँ किवीका लागि आदर्श हो । हिउँ पर्दा असर नपर्ने, तर असिनाबाट जोगाउन जाली ओढाउनुपर्ने पनि उनी सम्झाउँछन् ।

भविष्यको बाटो खुल्दै

हाल नगलपानी-झ्याम २७ किमी सडक ग्राभेल हुँदैछ । “यो बनेपछि बजार पु-याउन झनै सजिलो हुन्छ,” उनी भन्छन्, “रोल्पाको किवी देश-विदेश पुग्ने समय छैन ।”

रोल्पाको कठिन भूमिमा किवी खेती सम्भव मात्र होइन- समृद्धिको नयाँ नक्सा बन्न सक्ने इन्द्रबहादुर खत्रीको जीवनले प्रमाणित गरिदिएको छ । उनी भन्छन्- “किसान हुनु गर्व हो । माटोले छोड्दैन, मेहनतले धोका दिँदैन ।”