© २०२३
काठमान्डौ, १२ मंसिर ।
जेनजी आन्दोलनकी अगुवा भावना राउतले वर्तमान सरकारले जेनजी पुस्ताका आवाज सुन्न असफल भएको आरोप लगाएकी छन् । उनले प्रधानमन्त्री सुशीला कार्कीसहितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लामो टिप्पणी लेख्दै यस्तो धारणा राखेकी हुन् ।
राउतले जेनजी आन्दोलनका क्रममा दोषी ठहरिएका व्यक्तिहरूलाई कारबाही नगरेकोमा गम्भीर असन्तुष्टि व्यक्त गर्दै सरकार सहिदका बलिदानप्रति संवेदनशील नभएको आरोप लगाइन् । उनले लेखेकी छन्, ‘सडकमा सहिदका रगत अझै आलै छन्, आमाका आँखामा न्यायको प्रतीक्षा अझै छ । तर उनीहरू जेका लागि लडे, त्यही मर्म यो सरकारले बिस्तारै क्षीण बनाइरहेको छ । हाम्रो प्रश्न कुनै व्यक्तिमाथि होइन, प्रवृत्तिमाथि हो ।’
राउतका अनुसार अन्तर्राष्ट्रिय समुदायले गलत ठहराएका व्यक्तिलाई राज्यले सम्मानित बनाउँदै लैजानु सहिदप्रति अपमानसमान हो । उनले यस्तो प्रवृत्तिले सहिदका बलिदानलाई नै कमजोर बनाउने चेतावनी दिइन् ।
‘यदि “म नै म” भन्ने प्रवृत्ति यथावत् रहने हो र बाहिर उठ्ने आवाज सुन्ने इमानदारिता नहुने हो भने, ओली सरकार र अहिलेको नागरिक सरकारबीच मैले खासै फरक देख्दिन,’ राउतले लेखेकी छन् ।