© २०२३
सल्यान, १२ मंसिर ।
सल्यानको सदरमुकाम खलङ्गालाई शितलपाटीबाट जोड्ने पुरानो पदमार्गको व्यवस्थित संरचना सहित पुनर्निर्माणको पहल थालिएको छ ।
शारदा नगरपालिकाले पूर्वाधार विकासका दृष्टिले महत्त्वपूर्ण मानिएको शीतल पाटी–लुहापिङ–खलंगा पदमार्ग पुनः निर्माण तथा संरक्षणको पहल थालेको हो । यसका लागि नगरपालिकाले शनिबार श्री नगरमा बृहत् छलफल गर्ने भएको छ ।
शितलपाटीबाट खलङ्गासम्म सडक सञ्जाल विस्तार हुनु अघि स्थानीय बासिन्दाले आवतजावतको मुख्य मार्गका रूपमा उपयोग गर्दै आएको यो पदमार्गलाई व्यवस्थित संरचनासहित पुनर्निर्माण गर्ने तयारी गरिएको शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले जानकारी दिए ।
“नागरिकहरूको सहभागिता र लगानीमा पदमार्गको संरक्षण तथा पुनर्निर्माण गर्ने योजना हाम्रो रहेको छ”, उनले भने, “कसरी यो योजनालाई अगाडि बढाउने र दिगो बनाउने भन्नेबारे श्रीनगर बासी महानुभावहरूसँग छलफल गर्दैछौं ।”
शनिबार बिहान ८:०० बजे श्रीनगर स्थित उद्योग वाणिज्य सङ्घमा छलफल तय गरिएको नगरपालिकाले जनाएको छ । व्यवस्थित पदमार्ग पुनर्निर्माणले पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधि वृद्धि, ऐतिहासिक मार्गको संरक्षण तथा नागरिक आवतजावतमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।