© २०२३
काठमान्डौ, १२ मंसिर ।
श्रीलंकामा यो हप्ताको भारी वर्षाका कारण आएको बाढी र पहिरोले ठूलो विनाश मच्चाएको छ । हालसम्म कम्तीमा ५६ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । विशेषज्ञहरूले यसलाई हालका वर्षहरूमा भएको सबैभन्दा गम्भीर मौसमी प्रकोपमध्ये एक भनेका छन् ।
डिजास्टर म्यानेजमेन्ट सेन्टर (डीएमसी) का अनुसार, चिया बगानका लागि प्रसिद्ध बदुल्ला जिल्लामा राति आएको पहिरोमा मात्र २१ जनाको मृत्यु भएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूले बाढीको पानीले घरहरू बगाइरहेको दृश्य देखाउँछन् । प्रभावित परिवारका लागि अस्थायी आश्रयस्थलहरू तयार पारिएको छ ।
यसैबीच, शुक्रबार दित्वाह चक्रवातको पूर्वी तटतर्फको असरका कारण श्रीलंका थप खराब मौसमको सामना गर्न तयारी गरिरहेको छ । डीएमसीका अनुसार, दित्वाह पहिले गहिरो दबाबको रूपमा विकास भएको थियो र पछि द्रुत गतिमा चक्रवातमा परिणत भएको हो । यसले भारतको तटमा पनि ल्यान्डफल गर्न सक्ने सम्भावना रहेको छ ।
डीएमसीको पछिल्लो प्रतिवेदनअनुसार, चरम मौसमी प्रकोपले १७ जिल्लामा असर पारेको छ । करिब १ हजार १ सय ५८ परिवारका चार हजार व्यक्तिहरू प्रभावित भएका छन् । प्रतिवेदनअनुसार १० जना घाइते भएका छन्, तीनवटा घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ३८१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । हाल कम्तीमा १३१ जनालाई अस्थायी सुरक्षित केन्द्रमा सारिएको छ ।
अधिकारीहरूले लगातारको वर्षाले मध्य तथा पहाडी क्षेत्रहरूमा थप बाढी र पहिरो आउन सक्ने चेतावनी दिएका छन् । त्यसै कारण यात्रा अवरुद्ध भएको छ र प्रमुख सडकहरू बन्द छन् ।
मौसमी अवस्था बिग्रँदै गएपछि विश्वविद्यालय परीक्षा विभागले बिहीबार, शुक्रबार र शनिबारका लागि निर्धारित परीक्षा स्थगित गर्ने घोषणा गरेको छ ।
आपतकालीन टोलीहरूले उच्च जोखिम क्षेत्रमा खोजी–उद्धार कार्य जारी राखेका छन् भने सरकारले नागरिकलाई पहिरो र बढ्दो जलस्तरप्रति सतर्क रहन अनुरोध गरेको छ ।