© २०२३
गुल्मी, ११ मङ्सिर ।
गुल्मीमा यस पटक धान उत्पादनमा कमी आएको छ । गत वर्ष जिल्लामा २४ हजार चार सय २६ मेट्रिकटन धान उत्पादन भएकोमा यस पटक उत्पादन घटेर २२ हजार तीन सय २३ मेट्रिकटन मात्र भएको छ ।
गत वर्षको तुलनामा जिल्लामा धानको उत्पादनमा ८ प्रतिशत भन्दा बढीले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपाने जानकारी दिएका छन् ।
गत वर्ष जिल्लामा धान उत्पादनमा वृद्धि भए पनि यस पटक धानको क्षेत्रफलसँगै उत्पादन पनि घटेको सूचना अधिकारी न्यौपानेले बताएका छन् ।
गत वर्ष जिल्लामा सात हजार दुई सय ८८ हेक्टरमा क्षेत्रफलमा धान उत्पादन भएकोमा यस वर्ष घटेर ६ हजार दुई सय ७० हेक्टरमा पुगेको छ । जिल्लामा प्रत्येक वर्ष धानको उत्पादन र क्षेत्रफल घट्दै जान थालेको छ ।
धानको उत्पादन घट्नुको मुख्य कारणहरूमा समयमा बेमौसमी वर्षा, खडेरी, खेतहरू बाँझो बन्दै जानु, उन्नत बीउको प्रयोग कम हुनु, रासायनिक मलको उपलब्धता नहुनु, बसाई सराइँ, काम गर्ने श्रमिकहरूको कमी हुनु जस्ता कारणले धानको उत्पादनमा ह्रास आउँदै गएको बताइएको छ ।
गत वर्षभन्दा यस वर्ष बर्से धान उत्पादनमा आठ प्रतिशतले कमी आएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ । जिल्लामा चैते धान तीन सय १५ हेक्टर र बर्से धान ६ हजार दुई सय ७० हेक्टर गरी गरी कुल ६ हजार पाँच सय ८५ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।
यस वर्ष चैते धान एक हजार दुई सय ८६ मेट्रिकटन र बर्से धान २२ हजार तिन सय २३ मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी धान उत्पादन हुने फाँटमा इस्माको चौरासी, सत्यवतीको जोहाङ्, उर्लीखोला र अस्लेवा काली गण्डकीको अर्बेनी, कनौटा, छापचौर, चन्द्रकोटको मजुवा, रूपाकोट, लगायतका फाँटहरू रहेका छन् ।
त्यसैगरी मुसिकोट नगरपालिकाको तल्लाफाँट, इन्द्रेगौडा, बडीगाडको सुदी, मालिका गाउँपालिकाको सिमलटारी, फूलबारी, मदानेको सिर्सेनी रहेका छन् । यसै गरी धुुर्कोटको छल्दी र पनाहा फाँट, गुल्मी दरवारको गरमटारी, छत्रकोटको खज्र्याङ्, मनबाग लगायतका फाँटहरू धेरै धान खेती हुने फाँटमा पर्दछन् ।
जिल्लामा आयातित चामलको गुणस्तर तथा मूल्यमा स्वदेशी र स्थानीय धानले प्रतिस्पर्धा गर्न नसक्दा धानको आयात बढिरहेको छ । जसका कारण गत वर्ष गुल्मीमा पाँच करोड मूल्य बरावरको चामल आयात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सरदर एक जना व्यक्तिले वार्षिक रूपमा एक सय २८ केजी चामल खपत गर्ने हुँदा जिल्लामा १४ हजार मेट्रिकटन भन्दा बढी चामल आवश्यक पर्ने बताइएको छ ।
गुल्मी जिल्लामा हँसराज, झोत्री, काठे, भिनुवा, सानोभट्टे, ठूलोभट्टे, कोडे, मडियारे, रातोे मार्सी र मार्सी लगायत विभिन्न जातका धान उत्पादन हुने गर्दछ । उन्नत र हाइब्रिड जातका धान भन्दा स्थानीय जातको धान कृषकको रोजाइमा पर्ने गरेको छ ।
स्थानीय धानको भात खाँदा कम भोक लाग्ने, खानका लागि नरम र स्वादिलो हुने हुँदा यहाँका कृषकहरूले रैथाने धान उत्पादनमा निरन्तरता दिँदै आएका छन् ।
कृषि ज्ञान केन्द्रले पनि जिल्लामा यस्ता प्रकारका रैथाने जातका बीउको संरक्षण गर्नका लागि कृषकहरूलाई यसको उत्पादनमा जोड दिँदै आएको छ ।