© २०२३
नवलपरासी (पश्चिम)
बर्दघाट नगरपालिकाले आ.व. ०८०/८१ लाई शैक्षिक सुधार वर्ष घोषणा गर्दै शिक्षा क्षेत्रमा केन्द्रित भएर अघि बढ्दा सामुदायिक विद्यालयको अवस्था बदलिन थालेको छ। नगरपालिकाले करिब ६ करोड रुपैयाँ शिक्षामा बिनियोजन गरेपछि विद्यालयको नतिजादेखि भौतिक पूर्वाधार, सिकाइ प्रविधि, व्यवस्थापन र अभिभावकको विश्वास सबै क्षेत्रमा उल्लेख्य परिवर्तन देखिएको छ।
यो परिवर्तनलाई सबैभन्दा राम्रोसँग देखाउने आधार हुन्न-गरपालिकाले अघि सारेका १० महत्वपूर्ण काम।
सामुदायिक विद्यालयको स्तरवृद्धिमा नगर सरकार पूर्ण रूपमा केन्द्रित रह्यो।
निर्वाचनको समयमा कक्षा ८ को नतिजा १२ प्रतिशतमा झरेको थियो। निरन्तर अनुगमन, विद्यालय व्यवस्थापनसँग सहकार्य र शिक्षक–अभिभावक समन्वय बढाउँदै लग्दा अहिले यो नतिजा ५२ प्रतिशत पुगेको छ।
विद्यार्थीको सिकाइलाई प्रविधीसँग जोड्ने लक्ष्यअनुसार अधिकांश विद्यालयमा स्मार्ट बोर्ड जडान गरियो।
शिक्षकलाई प्रविधिसँग सहज बनाउन ल्यापटप प्रदान गरियो र विभिन्न प्रकारका तालिम सञ्चालन गरियो। विकास साझेदार गैरसरकारी संस्थाको सहकार्यमा गरिएको तालिमले शिक्षकको दक्षतामा उल्लेख्य सुधार आएको छ।
विद्यालयको सतत् सरसफाइका लागि ‘मेरो २ मिनेट’ अभियान सुरु गरियो।
विद्यार्थी र शिक्षकले हरेक दिन २ मिनेट विद्यालय प्राङ्गण सफा गर्ने व्यवस्था बनाइयो।
उजाड र अव्यवस्थित देखिने विद्यालय अब फूलबारी र हरियालीले भरिएको आकर्षक वातावरणमा परिणत हुँदैछन्।
करार शिक्षक र स्थायी शिक्षकबीच तलबको अन्तर हटाउँदै नगरपालिकाले ‘समान तलब’ व्यवस्था लागू गर्यो।
यसले शिक्षकको मनोबल बढाएको छ भने सामुदायिक विद्यालयप्रतिको अभिभावकको धारणा सकारात्मक बनाउँदै लगेको छ।
आ.व. ०८०/८१ मा मात्रै करिब एक करोड रुपैयाँ विद्यालय पूर्वाधारमा लगानी गरियो।
पुराना, चुहिने टिनका छाना हटाएर जिप्सम बोर्ड राखिँदै कक्षा कोठालाई आधुनिक तथा आकर्षक बनाइयो।
यसले सिकाइमा मनोवैज्ञानिक रूपमा पनि सकारात्मक प्रभाव पारिरहेको विद्यालयको अनुभव छ।
महिला शिक्षक सुत्केरी बिदा बस्दा पठनपाठन नरोकिने व्यवस्था नगरले मिलाएको छ।
सुत्केरी बिदा अवधिमा ‘शिक्षक सट्टा’ राख्ने विधि अपनाइएपछि कक्षामा शिक्षण गतिविधि अबद्ध नभएर निरन्तर रूपमा चलिरहेको छ।
विद्यालय समयमा दुर्घटना भएमा ‘दुर्घटना उपचार कोष’ मार्फत तत्काल उपचार गरिन्छ।
साथै विद्यालय नर्स कार्यक्रम प्रभावकारी बन्दै गएपछि अभिभावकले आफ्ना बालबालिका सुरक्षित हातमा छन् भन्ने विश्वासका साथ विद्यालय पठाएका छन्।
एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई नगरपालिकाले विशेष समारोहमार्फत सम्मान गर्दछ।
यसले विद्यार्थीमा प्रतिस्पर्धा, अनुशासन र मेहनतप्रतिको प्रेरणा बढाएको छ।
नगरपालिकाले आफ्नो शिक्षा ऐन बनाएर शिक्षा क्षेत्रमा दीर्घकालीन दिशा पनि तय गरेको छ।
‘शिक्षाबाट कोही पनि बञ्चित नहोस्’ भन्ने लक्ष्यसहित बर्दघाट नगरले विपन्न र गरिब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
विशेषगरी चिकित्सा शिक्षा पढ्ने विद्यार्थीलाई १० हजारदेखि ६० हजार रुपैयाँसम्मको सहयोग सोझै बैंक खातामा जम्मा गर्ने व्यवस्था छ।
नगरपालिकाले सिकाइलाई युगअनुकूल बनाउन दक्ष प्रशिक्षकमार्फत शिक्षकलाई नियमित तालिम प्रदान गर्दै आएको छ।
“पढाउने होइन, सिकाउने” सिद्धान्तअनुसार सञ्चालन भइरहेका यी तालिमले विद्यालयमा सिकाइ पद्धति फेरिएको अनुभव अभिभावक र विद्यार्थीले गरेका छन्।
नगर प्रमुख शम्भुलाल श्रेष्ठका अनुसार विद्यालयको वातावरण पारिवारिक र सुरक्षित बनाइएपछि सामुदायिक विद्यालयप्रति अभिभावकको विश्वास तीव्र गतिमा फर्किएको छ।
शिक्षा ऐन, नतिजा सुधार, प्रविधिमैत्री सिकाइ, भौतिक सुधार र समग्र व्यवस्थापनमा भएको यो परिवर्तन बर्दघाट नगरपालिकालाई ‘शिक्षा सुधारको नमुना नगरपालिका’ बनाउँदै लैजाने विश्वास नगरले लिएको छ।