© २०२३
काठमाडौं, ११ मंसिर ।
विकेटकिपर विनोद भण्डारीको अर्धशतकपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हासिल गरेको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीले दिएको १४४ रनको लक्ष्य १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
लगातार चार जितपछि सुदूरपश्चिमले ८ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ र प्लेअफमा पुग्ने सम्भावना बलियो भएको छ । बाँकी ३ खेलमध्ये १ जितेमा पनि सुदूरपश्चिम प्लेअफ सुनिश्चित गर्ने स्थिति मा हुनेछ ।
उता, पहिलो खेलमा जित हात पार्दै सानदार सुरुवात गरेको लुम्बिनीको यो लगातार तेस्रो हार हो । चार खेलबाट जम्मा २ अंक मात्र रहेको लुम्बिनीको प्लेअफ सम्भावना झिनो बनेको छ ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले अविजित ६९ रन बनाए । उनले ४९ बल खेलेर ५ चौका र ४ छक्का प्रहार गरे । यस सिजन भण्डारीको यो पहिलो अर्धशतक हो । त्यस्तै, आरिफ शेखले ३७ बलमा ४ चौका र १ छक्का सहित ३९ रन योगदान गरे ।
क्रिकेट लिनले १९ रन जोडे भने जोश ब्राउन ९ रनमा आउट भए । बलिङतर्फ लुम्बिनीका रुबेन ट्रम्पलम्यान, अभिशेष गौतम र तिलक भण्डारीले समान एक/एक विकेट लिए ।