बुटवल, ११ मंसिर ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक र माधवकुमार नेपाल सह–संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट तीनजना केन्द्रीय सदस्यसहित १० नेताले सामूहिक रूपमा पार्टी परित्याग गरेका छन्।
बिहीबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फत उनीहरूले नेकपा छाडेको घोषणा गर्दै प्रगतिशील लोकतान्त्रिक पार्टीमा औपचारिक रूपमा प्रवेश गरेको जानकारी दिएका छन्।
पार्टी छाड्ने नेताहरूमा केन्द्रीय सदस्य वामदेव क्षेत्री, गोविन्द केसी र किस्मत विक छन्। त्यस्तै, लुम्बिनी प्रदेश कार्यालय सचिव यज्ञ पोख्रेल,लुम्बिनी प्रदेश समिति सदस्य कृष्ण भण्डारी,लुम्बिनी प्रदेश समिति सदस्य भक्तबहादुर पुन (जलन) लगायत अन्य नेता तथा कार्यकर्ताले पनि पार्टी त्यागेका छन्।
विज्ञप्तिमा उनीहरूले हालको नेकपामा देखिएका नीतिगत विचलन, आन्तरिक लोकतान्त्रिक अभ्यासको कमजोरी र वैचारिक अस्पष्टताप्रति असन्तोष व्यक्त गर्दै वैकल्पिक राजनीतिक विकल्पका रूपमा प्रगतिशील लोकतान्त्रिक पार्टी रोजेको बताएका छन ।