© २०२३
काठमान्डौ, ११ मंसिर ।
सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ ।
गत हप्ता रवि पक्षका कानुनी प्रतिनिधिहरूले निवेदन पेश गरी सुनुवाइ स्थगित गराएका थिए । उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले भने– “गत हप्ता रोकिएको मुद्दामा आज पेसी तोकिएको छ, अब के हुन्छ हेरौँ ।”
बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेको थियो । यस आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
यो मुद्दामा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ । लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो भागको एक भाग बराबर अर्थात् २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक जमानतसहित दाखिला गराएका थिए । जोशीले पनि उस्तै रकमको जमानत पेस गरेका थिए । तर, दुवै प्रतिवादीको भागमा कति बिगो कायम हुने भन्ने सुनिश्चित नभएकाले अदालतले रिहा गर्न नमिल्ने आदेश जारी गरेको थियो ।
हाल रवि लामिछाने काठमाडौं कारागारमा र छविलाल जोशी भैरहवा कारागारमा राखिएका छन् ।