© २०२३
काठमाडौं, ११ मंसिर ।
एकीकृत समाजवादी पुनर्गठन अभियानमा लागेका नेता घनश्याम भूसालले एकीकृत समाजवादी र माओवादी केन्द्रबीचको एकता अराजनीतिक र असैद्धान्तिक भएको बताएका छन् ।
एमालेबाट अलग भएको औचित्य पुष्टि नहुँदै माओवादीसँग एकता गर्नु अवसरवाद भएको उनको निष्कर्ष छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा भूसालले सत्ता मोह र केही नेताको कुर्सी सुरक्षित गर्न मात्र एकता गरिएको आरोप लगाए ।
उनले भने, “यो एकता कतातिर गयो भन्दाखेरि नेकपा एमालेभन्दा बाहिर अर्को कुनै शक्ति छ, ध्रुव छ भनेर देखाउने र त्यसपछाडि त्यही एमालेसँग वा कांग्रेससँग बार्गेनिङ गर्ने, सत्ताका लागि सौदेबाजी गर्ने र केही नेताहरूको उम्मेदवारी सुनिश्चित गर्ने, आउने संसद्मा तिनको सिट सुरक्षित गर्ने बाहेक यसको कुनै राजनीतिक आधार छैन ।”
भूसालले नेताले जतिसुकै ठूलो अपराध गरे पनि बहुमतमा रहने कस्तो पार्टी निर्माण गरिएको भनेर प्रश्न उठाए ।
नाम नलिएरै उनले बहुदलीय जनवाद, महाकाली सन्धि, एमसीसी जस्ता मुद्दामा बहस सुरु हुँदा नेपाली कम्युनिस्ट पार्टीमा फुट सुरु हुने बताए ।
उनले भने, “बहुदल, बहुदलीय जनवाद वा यस्ता प्रश्नमा छलफल सुरु भयो भने झगडा सुरु भइहाल्छ, महाकाली सन्धि वा एमसीसीबारे कुरा गर्न थाल्दा कुटाकुट सुरु हुन्छ, घाँटी कोराकार सुरु हुन्छ ।”
नेता भूसालले सैद्धान्तिक मुद्दामा बहस सुरु हुँदा प्रचण्ड र माधव नेपाल लगायतको नेतृत्वमा बनेको नेपाली कम्युनिस्ट पार्टी चार टुक्रा हुनसक्ने दाबी पनि गरे । उनले भने, “हाम्रो क्रान्तिको बाटो, अरु सैद्धान्तिक र वैचारिक प्रश्नमा छलफल सुरु भए त्यसले चार टुक्रा हुन सक्छ ।”
भूसालले एकता टिकाइराख्न प्रचण्ड र माधव नेपाल लगायत नेताबीच वैचारिक र सैद्धान्तिक बहस नगर्ने सहमति भएको हुनसक्ने कटाक्ष पनि गरे ।
उनले भने, “त्यो एकता टिकाइराख्नका लागि सम्भवत: तयार गरिएको शर्त के हो भने कसैले राजनीतिक वा सैद्धान्तिक कुरा नगर्ने, चुनावको कुरा गर्ने, ठूलो भयौं भन्ने कुरा मात्रै गर्ने ।”
विगतमा एमालेमा उठेका सैद्धान्तिक प्रश्न एकीकृत समाजवादीमा पनि दोहोरिएको उनको भनाइ छ । उनले भने, “हिजो नेकपा एमालेभित्र जसरी छलफल गर्थ्यौं त्यही प्रश्न अहिले पनि एकीकृत समाजवादीमा उठेको छ, तर त्यहाँ पनि छलफलमा सहमति भएन ।”
नेपाली कम्युनिस्ट आन्दोलनको नेतृत्व जनआकांक्षा पूरा गर्न असफल भएको बताउँदै भूसालले प्रचण्ड र माधव नेपालबीचको एकता गिरोह पालेर सत्ता दोहन गर्ने मोहले सम्भव भएको दाबी गरे ।
उनी भन्छन्, “क्रान्ति गर्ने हो वा क्रान्तिका नाममा दलाल पुँजीवादसँग सत्ताभोग गर्ने हो ? हामी अल्पमतमा पर्यौं र त्यस एकतामा सहभागी भएनौं ।”