© २०२३
काठमान्डौ, ११ मंसिर ।
यसपटकको निर्वाचन आचारसंहितामा पहिलो पटक हरित निर्वाचन (ग्रिन इलेक्सन) सम्बन्धी प्रावधान समावेश गरिएको छ ।
आचारसंहिताको बुँदा नम्बर ३६ अनुसार राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन वा उम्मेदवारका निर्वाचन, मतदान र मतगणना प्रतिनिधिले हरित निर्वाचन सम्बन्धी आचरण पालना गर्नुपर्नेछ ।
निर्वाचन प्रचारप्रसार गर्दा वातावरणमैत्री र प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने उपाय अपनाउनुपर्ने प्रावधान राखिएको छ । सभा, जुलुस, र्याली वा घरदैलो जस्ता कार्यक्रममा वातावरणमैत्री सामाग्री प्रयोग, डिजिटल प्रचारप्रसारलाई प्राथमिकता, ध्वनि, जल तथा वायुप्रदूषण न्यून गर्ने उपायहरू अपनाउनुपर्ने व्यवस्था गरिएको छ ।
निर्वाचन प्रचारप्रसारका कार्यक्रममा प्लास्टिक वा पोलिथिन जस्ता अजैविक सामग्री प्रयोग गर्न नहुने आचारसंहितामा भनिएको छ । सवारीसाधन प्रयोग गर्दा इलेक्ट्रिक वा नवीकरणीय ऊर्जाबाट सञ्चालित सवारीसाधनलाई प्राथमिकता दिनुपर्नेछ ।
सभासमेतका कार्यक्रम सकिएपछि प्रयोग भएका सामग्री अनिवार्य रूपमा संकलन गरी वातावरणमैत्री तवरले व्यवस्थापन गर्नुपर्ने प्रावधान पनि समावेश छ ।
निर्वाचन आयोगले आचारसंहिताको पालनाप्रति अनुगमनका लागि तीन संरचना बनाउनेछ । यसमा केन्द्रीय आचारसंहिता अनुगमन समिति, आयोगले तोकेका १० भन्दा बढी सदस्यीय निर्वाचन आचारसंहिता अनुगमन टोली, र मुख्य निर्वाचन अधिकृतको संयोजकत्वमा जिल्ला आचारसंहिता अनुगमन समिति समावेश छन् ।
अनुगमन समितिहरूले आचारसंहिता उल्लंघनको दृष्य छायांकन, अन्य विद्युतीय उपकरणबाट प्रमाण संकलन गरी उजुरीको छानबिनमा प्रयोग गर्न सक्नेछन् ।