© २०२३
नेपालगञ्ज, ११ मंसिर ।
नेपालगञ्ज उपमहानगरपालिकाले अपाङ्गमैत्री फुटपाथ बनाउने भएको छ । पहिलो चरणमा बीपी चोकदेखि धम्बोझीसम्म अपाङ्गमैत्री फुटपाथ बनाउन ठेक्का सम्झौता गरिएको छ । नेपालगञ्जका मेयर प्रशान्त सिवष्टले करिव ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको बताए । यो काम तत्काल नै सुरु गरिने मेयर विष्टले बताए ।
ठेक्काको काम सुरु हुनु अघि उपमहानगरपालिकाले अतिक्रमण हटाउन सुरु गरेको छ । मेयर विष्ट र प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा आफै उपस्थित भएर अतिक्रमण हटाइरहेका छन् । फुटपाथलाई च्यापेर अस्थायी संरचना बनाएको थियो । त्यस्ता संरचना माथि डोजर चलाइएको छ । पटक–पटक सार्वजनिक सूचना जारी गरेर सचेत गराउँदासमेत अवैध संरचना नहटाइएपछि डोजर लगाएर संरचना हटाउन थालिएको हो ।
नेपाल प्रहरी र नगर प्रहरीको उपस्थितिमा डोजर चलाइएको छ । नेपालगञ्जमा फुटपाथ हटाउन नसकेको भन्दै मेयरको आलोचना हुँदै आएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले अर्को चरणका बीपीचोकदेखि गणेशमान चोक सम्म अतिक्रमण हटाएर अपाङ्गमैत्री फुटफाथ बनाउने जनाएको छ ।