© २०२३
काठमान्डौ, ११ मंसिर ।
जेजनी प्रदर्शनबारे छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख मुख्य अनुसन्धान निर्देशक हुतराज थापासँग बयान लिएको छ । आयोगका एक पदाधिकारीका अनुसार, थापासँगको बयान बुधबार साँझ सकिएको छ ।
थापा मुख्य अनुसन्धान निर्देशकको तीन वर्षे पदावधि पूरा गरी भदौ २८ मा सेवा निवृत्त भएका थिए । जेनजी प्रदर्शनको समयमा उनी राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर प्रमुख थिए ।
गौरीबहादुर कार्की नेतृत्वको आयोगले प्रदर्शनको पहिलो दिन किशोरहरूको ज्यान जाने गरी गोली चलाउने कार्य कानुनसम्मत भए नभएको र भदौ २४ गतेको विध्वंसबारे छानबिन गर्ने कार्यादेश पाएको छ । आयोगले असोज ९ देखि आफ्नो काम सुरु गरेको थियो र तीन महिनाभित्र प्रतिवेदन पेश गर्नुपर्नेछ ।
असोज ४ मा आयोगले पूर्वमुख्यसचिव एक नारायण अर्यालसँग सोधपुछ गरिसकेको थियो । यसैगरी, आयोगले राष्ट्रिय अनुसन्धान विभागका उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख ओम राना, सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठ, र नेपाल प्रहरीका एसपी अपिल बोहरा तथा कुलदिप चन्दसँग पनि बयान लिएको छ ।
सशस्त्र प्रहरीका डीआईजी श्रेष्ठ उपत्यका हेर्ने नम्बर–९ पशुपतिनाथ बाहिनीका प्रमुख हुन् । आयोगले उपत्यका प्रहरी कार्यालयबाट सुदूरपश्चिम प्रदेशमा सरुवा भएका डीआईजी ओम रानाको बयान पनि बुधबार साँझ पूरा भएको जानकारी दिएको छ ।