© २०२३
लमही, ११ मङ्सिर ।
गढवा गाउँपालिकाले किसानको पहुँच सहज, छरितो र वैज्ञानिक जानकारीमा आधारित बनाउने उद्देश्यसहित कृषि तथा पशुपालन सेवालाई डिजिटल प्रविधिमार्फत विस्तार गर्ने अभियान सुरु गरेको छ ।
कार्यक्रमअन्तर्गत किसानलाई मोबाइल, अनलाइन एप्लिकेशन र विभिन्न डिजिटल प्लेटफर्म प्रयोग कृषि र पशु सम्बन्धी धेरै जानकारी लिन सकिने कृषि शाखा प्रमुख कान्ताराम यादवले बताए ।
रोग पहिचान र उपचार,कृषि तथा पशुपालन परामर्श, दाना तथा पोषण व्यवस्थापन,बजार मूल्य र आपूर्ति सञ्जालसम्बन्धी सूचना पहुँच कसरी बनाउने भन्ने विषयमा किसानहरूलाई तालिम दिने उनले बताए ।
गाउँपालिकाका प्राविधिकहरूका अनुसार ग्रामीण किसान समयमै सूचनाबाट वञ्चित हुँदा रोग व्यवस्थापन, खेती प्रणाली र बजार छनोटमा चुनौती झेल्दै आएकोले डिजिटल प्रविधि सुरु गर्न लागेको बताउँछन् ।
डिजिटल प्रविधिको प्रयोगले सही समयमा सूचना र निर्णय सहयोग, सेवामा छिटो पहुँच, दुर्गम क्षेत्रका किसानका लागि लागत तथा समय बचत जस्ता फाइदा पुग्ने अपेक्षा गरिएको छ ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलका अनुसार दुर्गम बस्तीका किसानलाई सेवा केन्द्रसम्म पुग्न कठिनाइ हुने समस्या समाधान गर्न यो कार्यक्रम महत्त्वपूर्ण हुनेछ ।
“डिजिटल सेवा विस्तारले किसानले अब घरमै बसेर कृषि तथा पशुपालनसम्बन्धी आवश्यक जानकारी लिन सक्ने छन् । यो कदम उत्पादन, आय र दक्षता वृद्धि गर्न ठुलो टेवा पु¥याउँछ,” अध्यक्ष पोख्रेलले बताए । सो विधि पालिकाका सबै वडामा लागू हुने छ ।