© 2026
सुनवल, १० मंसिर
पश्चिम नवलपरासीबाट एमसीसी परियोजनाको काम सुरु भएको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गरेसंगै काम सुरु भएको छ ।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सुनवल–१३ सुर्यबस्तीदेखी नेपाल–भारत सिमाना सम्म १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको शुभारम्भ गरिएको हो । निर्माण कम्पनीका प्रतिनिधिलाई बेल्चा हस्तान्तरण गरेर प्रशारण लाइन र सबस्टेशन निर्माणको शुभारम्भ गरिएको छ ।
कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले एमसीसी परियोजनाले आर्थिक विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताउँदै अमेरिक सरकारको सहयोगको प्रशंसा गरे । मन्त्री खनालले अब तीन वर्ष पनि पुरा समय नभएकाले समयमै काम सम्पन्न गर्ने गरि तदारुकताका साथ काम भइरहेको जानकारी दिए ।
विद्युत प्रसारण लाइनको बहुआयामिक महत्व रहेको बताउँदै नेपालमा आन्तरिक बजारमा आवश्यक भएको बेला आयात गर्न र दक्षिण एसियामा उर्जा बजारमा नेपालको शसक्त उपस्थिति बढाउन यो परियोजना कोसेढुङ्गा सावित हुने खनालको भनाई छ । मन्त्री खनालले भुमही–भैरहवा औद्योगिक क्षेत्रको रुपमा विकास गरिने बताए ।
अमेरिक राजदूत थम्प्सनले नेपालको हरित उर्जा सुरक्षामा यो परियोजनाले सहयोग पुग्ने बताउँदै अमेरिकाले नेपाल सँगको सहकार्यमा प्रविधि र लगानीमा सहयोग गर्दे आएको उल्लेख गरे । थम्प्सनले आर्थिक वृद्धि र दक्षिण एसियामा विद्युत व्यापारका लागी यो परियोजना महत्वपूर्ण हुने उल्लेख गर्दे अमेरिका नेपालको दिगो सहयात्रीको रुपमा उभिदै आएको बताए ।
सुनवल देखि भारत सिमा नाका सम्म ५३ वटा टावर निर्माण हुने एमसिए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले जानकारी दिए । जसको मुआब्जा वितरण अन्तिम चरणमा रहेको एमसिए नेपालले जनाएको छ ।
मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) अन्तर्गत बन्ने प्रसारणलाइनका लागी टावर निर्माण गर्न जग्गाको अवस्था हेरिकन प्रतिकठ्ठा ९ लाख १४ हजार देखि ७३ लाख ६७ हजार सम्म रकम भुक्तानी गरिएको छ ।
साना ठूला दुई प्रकारका टावर निर्माणका लागी १ कठ्ठा ८ धुर देखि २ कठ्ठा सम्म जग्गा अधिग्रहण गरिएको छ । ३९ महिना भित्र सबस्टेशन र २१ महिना भित्र प्रसारण लाइन निर्माण सम्पन्न गर्ने गरि भारतीय दुई कम्पनी सँग ठेक्का सम्झौता भइसकेको छ ।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत लप्सीफेदिबाट सुरु हुने ३ सय १५ किलोमिटर लामो प्रसारण लाइन अन्र्तगत तीन वटा सबस्टेशन निर्माण हुने छ । नवलपरासीमा एमसीसी परियोजना अन्तर्गत प्रसारण लाइन र सबस्टेशनको सबैभन्दा पहिले काम हुन थालेको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले प्रशारणलाईन निर्माण संगै स्थानीय जनतालाई रोजगारी सृजना र यस क्षेत्रको विकासमा सहयोगी हुनुपर्नेमा जोड दिए ।