© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गर्ने नेताहरूले काठमाडौँको राष्ट्रियसभा गृहमा भेला भएका छन् । बुधबार कांग्रेसका पुराना नेता ओमकार श्रेष्ठको अध्यक्षतामा भइरहेको भेलामा विशेष महाधिवेशनको माग राख्ने नेताहरूले आफ्नो दृष्टिकोण व्यक्त गरिरहेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा २ हजार ४ सय ८८ प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै संकलन गरेका हस्ताक्षर गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका थिए ।
नेताहरूले आफूहरूको माग अनुसार विशेष महाधिवेशनको आयोजना गर्न दबाब दिने उद्देश्यले भेला भएका हुन् ।
गत असोज २८ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तोक्न सकिरहेको छैन । महाधिवेशन सरकारद्वारा फागुन २१ गते तोकिएको निर्वाचनअघि गर्ने कि पछि गर्ने भन्ने विषयमा कांग्रेसभित्र विवाद देखिएको छ ।
त्यही विषयमा छलफल गर्न बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको छ । त्यही बैठकको पूर्वसन्ध्यामा उनीहरूले राष्ट्रियसभा गृहमा भेला भएका हुन् ।