© २०२३
काठमान्डौ, १० मंसिर ।
देशको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँबाट माथि पुगेको छ, जुन कूल देशीय उत्पादन (जीडीपी) को करिब ४५ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ भने बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँमा पुगेको छ ।
गत असारदेखि कात्तिकसम्मको अवधिमा मात्र सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले वृद्धि भएको छ । असारको अन्त्यसम्म यो रकम २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ थियो ।
असोजको तुलनामा कात्तिकसम्म तिर्न बाँकी सार्वजनिक ऋण थप बढेको तथ्यांकले देखाउँछ । असोजसम्म तिर्न बाँकी राष्ट्रिय ऋण २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।
कार्यालयका अनुसार सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब ९६ करोड रुपैयाँ रहेको छ, जुन कूल जीडीपीको २०.८९ प्रतिशत हो । त्यस्तै, बाह्य ऋण १४ खर्ब ५३ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ, जसको हिस्सा जीडीपीको २३.८० प्रतिशत बराबर छ ।
गत चार महिनाको अवधिमा १ खर्ब ३८ अर्ब ७५ करोड रुपैयाँ ऋण प्राप्त भएकोमा १ खर्ब ५० अर्ब ८८ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको छ, जसले ऋण सेवा दायित्व बढ्दो क्रममा रहेको संकेत गर्छ ।