© २०२३
काठमान्डौ, १० मंसिर ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दलका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने समय आज अन्तिम दिन हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा आजमै सकिने भएकाले सम्बन्धित दलहरूले अनिवार्य रूपमा म्यादभित्र दर्ता प्रक्रियामा सहभागी हुनुपर्नेछ ।
पहिले नै आयोगमा दर्ता भइसकेका राजनीतिक दलहरूलाई समेत यस पटकको निर्वाचनमा सहभागी हुन फेरि दल दर्ता गराउनैपर्ने कानुनी व्यवस्था रहेको आयोगले स्पष्ट पारेको छ ।
हालसम्म आयोगमा दर्ता राजनीतिक दलहरूको संख्या १३४ रहेको छ । तीमध्ये मंगलबार साँझसम्म ८० दलले निर्वाचनका लागि पुनःदर्ता गराइसकेका छन् । बाँकी दलहरूले आजको दिनभित्र दर्ता नगरे निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।