© २०२३
सल्यान, १० मङ्सिर ।
सल्यानमा नयाँ नागरिकता बनाउन आउने भन्दा नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिनेको सङ्ख्या बढी देखिएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को चार महिनाको अवधिमा २९३५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । जबकि यो अवधिमा नयाँ नागरिकता प्राप्त गर्नेहरूको सङ्ख्या २५५७ मात्र रहेको छ ।
राष्ट्रिय परिचयपत्र बनाउने क्रममा झुत्रो, मेटिएको, स्टिकर नभएकोलाई स्वीकार नगर्ने हुँदा प्रतिलिपि सङ्ख्या बढी भएको सल्यानका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले जनाए ।
जिल्ला प्रशासन कार्यालय सल्यानले जारी गरेको विवरण अनुसार गत साउन देखि कार्तिकसम्म ४३१ थान पुराना नागरिकताको अभिलेख डिजिटाइजेसन गरिएको छ । यस्तै यो अवधिमा ९४३ जनाले राष्ट्रिय परिचयपत्र कार्ड लिएका छन् भने ६१५० जनाले विवरण दर्ता गराएका छन् ।
कार्तिक महिनामा मात्रै राष्ट्रिय परिचयपत्रका लागि १६२५ जनाले विवरण दर्ता गराएको र २४९ जनाले कार्ड प्राप्त गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले जानकारी दिए ।
कार्यालयबाट प्रथम चौमासिकमा १४०१ जनालाई राहदानी वितरण गरिएको छ भने १६८४ जनाले राहदानीका लागि आवेदन दर्ता गराएका छन् ।
जिल्ला प्रशासनले राजस्व तर्फ १२ लाख ५२ हजार २२७ रुपैयाँ आम्दानी भएको पनि जनाएको छ । जस अनुसार राहदानी शुल्क बापत नौ लाख ८३ हजार ६०० रुपैयाँ, अन्य प्रशासनिक शुल्कबाट ३५ हजार १००, सरकारी सम्पत्ति बिक्रीबाट एक लाख २६ हजार ८० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
यसै गरी बेरुजु असुल गरेर १९ हजार ८०१, हातहतियार इजाजत शुल्कबाट ३४ हजार ७००, धरौटी सदर स्याहा गरेर एक हजार ७८६, कम्पनी रजिस्ट्रेसनबाट २६ हजार २००, प्रशासनिक दण्ड जरिवाना र जफत गरेर १५ हजार तथा परीक्षा शुल्कबाट १० हजार रुपैयाँ आम्दानी भएको जिल्ला प्रशासनले जनाएको छ ।
पारदर्शिता, जबाफदेहिता, सुशासन र सेवाग्राही एवं सरोकारवालाहरूको जानकारीको लागि कार्यालयले हरेक त्रैमासिकमा स्वतप्रकाशन र हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्दै आएको छ ।