© २०२३
हिमाल, पहाड र तराईमा हरेक दिन जसो चिसो बढ्दै गएको छ ।
हिमाली भेगमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ । पहाडी क्षेत्रका लेकमा समेत हिमपात भएको देखिएको छ । तराईमा पनि अव चिसो बढ्दै गएको छ । सरकारले चिसोबाट बच्न पूर्व तयारी सुरु गरिएको जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले चिसो जन्य बिपदबाट एक लाख नागरिक प्रभावित हुने आङ्कलन गर्दै पूर्व तयारी सुरु गरेको जनाएको छ । सरकारले गर्ने पूर्व तयारी कहिले पनि पर्याप्त हुन सकेको देखिएको छैन । तराईमा हुस्सुले चिसो बढाएको छ ।
बिहान साँझ हुस्सु लाग्न थालिसकेको छ । चिसो बढेसँगै तराई र हिमालका जनता प्रभावित हुन थालेका छन् । तापक्रम घट्दै जाँदा चिसो हावासँगै पानीको थोपा चुहिने र बाक्लो हुस्सु लाग्ने गर्छ । तापक्रम घट्ने क्रम भर्खर मात्र सुरु भएको छ ।
यो अवस्था बढ्दो क्रममा रहेकाले यी क्षेत्रका बासिन्दाले अझै जटिल अवस्थाको सामना गर्नुपर्ने निश्चित छ । प्रकृतिजन्य समस्या भएकाले यसलाई कसैले रोक्न तथा छेक्न त सक्दैन, तर पूर्व तयारी गर्न सकियो भने क्षति न्यूनीकरण गराउन भने अवश्य सकिन्छ ।
बेलैमा सचेत भएर चिसोबाट बच्ने र बचाउन सकिने विकल्पबारे सोच्नुपर्छ । अबको एक महिनापछि पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा चिसोको समस्या धेरै हुनेछ । किनभने शितलहरको कहर अझै बाँकी छ । यति बेला मौसम चिसो हुने समय भएपनि अकस्मात् चिसोको मात्रा बढेको छ । चिसोले खासगरि गरिव र न्यून आय भएकाहरू बढी प्रभावित हुने अवस्था छ ।
यो प्रत्येक वर्षको नियमित प्रकृया जस्तै बनेको छ । जाडोमा एकसरो कपडासमेत किन्न नसक्ने र रातीमा ओढ्ने ओछ्याउन नहुँदा दुःख पाएका नागरिक सबैभन्दा धेरै पीडामा छन् । यो समयमा उनीहरूलाई गास, बास र कपासको उचित प्रबन्ध गर्न कुनै कसर बाँकी राख्नु हुँदैन ।
खासगरि भुकम्प प्रभावित र गत बर्ष असोज ११ र १२ गते परेको पानीका कारण विस्थापित भएका प्रभावित नागरिकले चिसोको कहर भोगिरहेका छन ।
सरकारले बिपदजन्य घटनामा प्रभावित नागरिकको ज्यू धनको सुरक्षाको जिम्मेवारी लिनुपर्दछ । नागरिकको संरक्षक राज्य भएका कारण उनीहरूलाई चिसोबाट जोगाउने अभिभारा पनि राज्यले बहन गर्नुपर्छ ।
सरकारसंगै मानव सेवामा लागेका धार्मिक, सामाजिक संघ संस्थाहरू र आर्थिकरूपले सम्पन्न नागरिकले पनि यति बेला मानवता प्रदर्शन गरेर चिसोबाट प्रभावित भएकाहरूलाई सामाजिक सेवा भाव दर्शाउनुपर्दछ ।
हरेक वर्ष यही समयमा चिसो बढ्नु र बैशाखदेखि भदौसम्म गर्मीले आक्रान्त बनाउनु प्रकृतिको नियति हो । तर, यसलाई वर्षैपिच्छे दोहोरिने समस्या हो भन्दै सरकारले नजरअन्दाज गर्नु हुँदैन । चिसो प्रभावतलाई कपडा वितरण गर्ने, दाउरा बालेर घर–गोठभित्र तातो बनाइराख्ने व्यवस्था गर्ने काममा स्थानीय सरकारले समेत सघाउनु पर्दछ ।
तराईमा भन्दा पनि हिमाली भेगमा हिमपात सुरु भैसकेकोले त्यहाँका नागरिकको सुरक्षामा सरकारको ध्यान जाओस् । चिकित्सकहरूका अनुसार शीतलहर, हुस्सु, कुहिरो र चिसो हावाको समयमा रोगले छिटो आक्रमण गर्छ ।
नागरिकले पनि सरकारको मात्र मुख नताकी आफ्नो स्वास्थ्यको हेरचाहमा ध्यान दिनेतर्फ प्रयास गर्नुपर्छ । सरकारले पनि दायित्व सम्झेर चिसोबाट प्रभावितलाई राहत दिने कुरामा ढिलाई नगरोस् । चिसोबाट बढी प्रभावित क्षेत्र र समुदायका मानिसको सुरक्षा सरकारको समेत दायित्व हो । नेपालमा गत भदौमा जेनजी आन्दोलनपछि नयाँ सरकार बनेको छ ।
नयाँ सरकार पहिलो चरणमै चिसोबाट प्रभावित भएकाहरूको लागि रक्षा कवच बनोस् ।