© २०२३
काठमाडौँ ।
बङ्गलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना समर्थित अवामी लिग पार्टीले यही नोभेम्बर ३० तारिखसम्म देशभर विरोध प्रदर्शन गर्ने भएको छ । अवामी लिगले आइतबारदेखि नोभेम्बर ३० सम्मका लागि देशव्यापी विरोध कार्यक्रम आह्वान गरेको हो ।
पार्टीले आफ्नो आधिकारिक ‘एक्स’ खातामा जारी वक्तव्यमा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसद्वारा शेख हसिना र उनको पार्टीलाई आउँदो फेब्रुअरीमा हुने आम चुनावबाट हटाउन योजनाबद्ध रूपमा अदालतमार्फत फैसला गराइएको आरोप लगाएको छ ।
हसिनालाई सुनाइएको मृत्युदण्डको फैसलालाई अवामी लिगले अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । साथै, पार्टीले प्रधानमन्त्री युनुसले तत्काल राजीनामा दिनुपर्ने माग पनि गरेको छ ।
पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै अदालतले मंसिर १ (नोभेम्बर १७) मा मृत्युदण्डको फैसला सुनाएको थियो ।
बङ्गलादेशको अन्तर्राष्ट्रिय फौजदारी ट्राइब्युनल (आईसीटी) ले गत वर्षका घटनामा हसिना सहित उनकी मन्त्रिपरिषद्की आन्तरिक मामिला मन्त्री असदुज्जमान खान कमल र तत्कालीन प्रहरी प्रमुख चौधरी अब्दुल्लाह अल–मामुनलाई दोषी ठहर गरेको थियो।
भारतमा निर्वासनमा रहिरहेकी हसिनाको अनुपस्थितिमै यो मुद्दाको सुनुवाइ गरिएको थियो ।