© २०२३
काठमान्डौ, १० मंसिर ।
नेकपा एमालेले आउँदो ११ औँ राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक नारा तय गरेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको महाधिवेशन सचिवालयको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त जानकारी दिएका हुन् ।
गौतमका अनुसार महाधिवेशन तयारीका लागि गठन गरिएका १२ वटा समितिहरूले आफ्ना क्षेत्राधिकारभित्र भएका प्रगतिबारे बैठकमा विस्तृत रिपोर्ट पेस गरेका छन् । केही कामहरू सम्पन्न भइसकेका र केही बाँकी रहेकाले ती छिटो पूरा गर्ने योजना प्रस्तुत गरिएको उनले बताए ।
बैठकमा महाधिवेशनका लागि तयार पारिएको लोगोबारे पनि व्यापक छलफल भएको तथा अन्तिम रूप दिनुपर्ने प्रक्रियामा रहेको गौतमको भनाइ थियो । पार्टीले महाधिवेशनको मुख्य नारा “निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य” तय गरेको उनले सार्वजनिक गरे ।
उनले संवैधानिक अद्यावधिकका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया सम्पन्न गरिएको उल्लेख गर्दै यो नियमित कार्यको भाग भएको स्पष्ट पारे ।
शान्ति–सुरक्षाको विषय उठाउँदै गौतमले सरकार आवश्यक संवेदनशीलता देखाउन नसकिरहेको आरोप लगाए । उनले आगामी निर्वाचन निष्पक्ष र शान्त वातावरणमा सम्पन्न गर्न राज्यले प्रभावकारी सुरक्षा व्यवस्था सुनिश्चित गर्न आवश्यक रहेको बताए ।