Butwal Today

काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको चुनौतीपूर्ण लक्ष्य

९ मंसिर २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ, ०९ मङ्सिर ।

डेथ ओभरमा कप्तान करण केसी चम्किएपछि काठमाडौँ गोर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससामु १५८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको काठमाडौँले आठ विकेटको क्षतिमा १५७ रन बनायो । काठमाडौँका कप्तान करण केसी ३४ रनमा अविजित रहे । उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे ।

ओपनर आकाश त्रिपाठीले ३२ रन जोडे । ३६ बलमा तीन चौकासहित ३२ रन बनाएका आकाश शेर मल्लको बलमा डिआर्सी सर्टबाट क्याच आउट भए । त्यस्तै, १६ बलमा दुई छक्का प्रहार गरेका सन्तोष यादवले २६ रन बनाए । उनी रुवेन ट्रम्पलम्यानको बलमा सन्दीप जोराबाट क्याच आउट भए । मिलिन्द कुमार र जेरहार्ड इरसमसले समान १७ रन जोडेर पेभेलियन फर्किए ।

रसिद खानले १४ रन थपे । जोन सिम्सन ७ र वेन चार्ल्सवर्थ शून्य रनमै आउट भए । मोहम्मद आदिल आलम ४ रन बनाएर क्याच आउट भए । लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैबले दुई–दुई विकेट लिए ।