© २०२३
आज महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस हो ।
“प्रविधिको सही प्रयोग गरौँ : लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि नेपालमा पनि सुरु भएको छ । प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।
यो अभियान मनाउन सुरु हुँदै गर्दा नेपालमा हरेक बर्ष २३ हजार बढी महिला तथा बालबालिकामाथि हिंसा हुने गरेको तथ्याँक छ । त्यसो त अहिले लैंगिक हिंसा नेपालमा मात्र होइन विश्वभरि नै व्याप्त छ । कतै यौन दुव्र्यवहार, कतै सांस्कृतिक हिंसा, कतै राज्यद्वारा हुने विभेद र हिंसा व्यापक छन् । विशेषगरी नेपाल लगायतका विकासोन्मुख देश, दक्षिण एशियाका देशहरूमा जहाँ अशिक्षा बढी छ, गरिबी छ, सामन्ती अर्थ व्यवस्था छ, महिलाहरू आर्थिक अधिकारबाट वञ्चित छन् त्यहाँ अझ बढी यस्ता हिंसा व्याप्त छन् ।
महिला पुरुषबीचको बिभेदको खाडल नपुरिएसम्म हिंसाका घटनामा नियन्त्रण हुन सक्दैन । आजको बिभेदयुक्त समाजमा महिलाका आम समस्या समाधान नगरी समाज परिवर्तनको सपना देख्नु भ्रममात्र हो ।
जबसम्म महिलाका समस्या समाधानमा राज्यको ध्यान पुग्दैन तबसम्म हिंसा अन्त्यको कुरा कल्पनामात्रै हुन्छ । विडम्बनाको कुरा भन्नुपर्दछ– एक्काइसौं शताब्दीमा आईपुग्दा समेत हाम्रा चेलीहरू सुरक्षित रूपमा हिँडडुल गर्ने वातावरण बन्न सकेको छैन ।
घरेलु हिंसा, यातना, पुरातन सोँच बिचार, रुढीबादी परम्परा, अन्धविश्वास, आर्थिक परनिर्भरता लगायतका धेरै कारण छन जसले हिंसामा बल पु¥याएका छन् । अहिलेपनि नेपालमा सहरमा मात्रै त्यो पनि सीमित क्षेत्र र समुदायमामात्रै महिला अधिकारका कुरा गरेर यो दिवस मनाउने औपचारिकता पूरा गरिन्छ तर जबसम्म देशका सहरदेखि गाउँसम्म सवै क्षेत्रमा रहेका महिलाको अधिकार स्थापित गर्न सकिदैन तबसम्म यो समस्या समाधान हुदैछ । महिला विरुद्धको कुनैपनि दुव्र्यवहार हिंसा हो अनि गम्भीर मानव अधिकार उल्लंघन हो ।
यसले व्यक्तिको स्वतन्त्र र सम्मानित भएर बाँच्न पाउने नैसर्गिक अधिकारबाट बञ्चित गराउँछ । अहिलेपनि महिला हिंसाको घटनामा कमी होइन, बरु झनै बढिरहेको अवस्था देखिएको छ । तसर्थ महिला हिंसा नियन्त्रणका लागि अवको दिनमा जरैदेखि अभियान नै सञ्चालन गर्नुपर्ने खाँचो छ ।
महिला हिंसा विरुद्धको दिवस औपचारिकतामै सीमित भएको छ । महिला अधिकारप्रति चासो र चिन्ता राख्ने संघ संस्थाहरूले समेत बर्षमा १६ दिन अभियान संचालन गर्ने र त्यसपछि महिला अधिकारको विषयमा उच्चारण समेत नगर्ने प्रवृत्ति बढेको छ ।
यसलाई प्रहरीको तथ्याँकले समेत पुष्टी गरेको छ । किनभने जति नै महिला हिंसाका विरुद्ध आवाज उठाएपनि हिंसा नियन्त्रणको मुद्दा फितलो सावित हुँदै गएको छ । एक वर्षमा देशभर लैङ्गिक हिंसाका करिव २२ हजार बढी उजुरी पर्नु सामान्य बिषय होइन ।
यी त प्रहरीमा आएका घटना मात्र हुन । प्रहरीसमक्ष नआउने घटना त्यो भन्दा पनि भयावह छ । सायद कल्पना गरेर सकिदैन् । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसा अपराधमा घरेलु हिंसाको हिस्सा ८० प्रतिशत रहेको छ । महिला हिसाको अर्को रूप घरेलु हिंसा पनि हो ।
पछिल्लो समय लैंगिक हिंसा न्यूनिकरणका लागि सरकार र सामाजिक संघ संस्थाले प्रयास जारी रहेको जनाएका छन तर हिंसाका घटना सुन्दा आँङनै सिरिङ्ग हुने अवस्था छ । तसर्थ अवको दिनमा महिला हिंसा नियन्त्रणका साथै न्यूनिकरणमा पनि प्रयास गर्नु जरुरी छ ।
कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि भएको बर्बर हत्याको घटना महिला हिंसामा दोषीले उन्मुक्ति र पीडितले न्याय नपाउने एउटा उदाहरण हो । फेरिपनि महिला, पुरुष तथा घरेलु हिंसाका घटना न्यूनिकरण गर्न नेपाल सरकार लगायत सम्वद्ध संघ संस्था एवं नागरिक समाजको सहकार्यवाट मात्रै संभव छ ।
तसर्थ यो समस्या न्यूनिकरणमा संघीय सरकारको ध्यान जाओस् ।