© २०२३
पाल्पा, ०९ मंसिर ।
तानसेन अर्गलीका कृषक कृष्ण प्रसाद पराजुलीले आफ्नो खेतमा परपम्परागत रूपमा खेतमा लगाउँदै आएको धानको बीउ घरमा नहुँदा बीउमा पर निर्भर भएको ५ वर्ष भएको उनी बताउँछन् ।
धानको बोट अग्लो फलको बोक्राको रंग अत्यन्तै बास्नादार हुने झिनुवा जातको धान अर्गलीबाटै लोप भएको उनी बताउँछन् ।
यो प्रजातिको बीउ प्रयोग गरी खेती गरेका माडी फाँटका कृषक सुदर्शन रेग्मी पनि माडी फाँट सेरोफेरोबाट यो जातको बीउ हराएको बताउँछन् । यो जातको बीउ उच्च घरानामा मात्र प्रयोग हुन्थ्यो ।
कम जमिन भएकाले हंसराज, मनसारो आमझोत्ते, अनदी, स्थानीय मनसुलीको बीउ प्रयोग गरेर खेती गर्ने हो तर अहिले कुनै पनि बीउ कुनै किसानको घरमा नभएको स्थानीय कृषक बुद्धराज बस्याल बताउँछन् ।
‘त्यस्ता बीउको विकल्पमा हाइब्रिड जातको बीउ २०५० सालबाट भित्रिए पछि हाम्रो माटोमा फल्ने स्थानीय बीउ हराउन थाल्यो,’ उनले भने ।
कृषि ज्ञान केन्द्र, पाल्पाको तथ्याङ्क अनुसार ८ हजार २ सय ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।
त्यसमध्ये ८० प्रतिशत जमिनमा विदेशी कम्पनी तथा उद्योग बाट उत्पादित हाइब्रिड जातको बीउको प्रयोग हुने गर्दछ । सरकारको कृषि सम्बन्धी स्पष्ट नीति नुहुँदा बहुराष्ट्रिय कम्पनीद्वारा उत्पादित बीउको प्रयोग भएको छ ।
स्थानीय जातको बीउ विस्थापन भएका कारण आयातित बीउ कृषकहरूलाई अत्यन्तै महँगो साबित भएको छ । धानको मात्र प्रति के.जी ६ सय रुपैयाँ भन्दा बढी मूल्य पर्दछ ।
सरकारले उन्नत जातलाई भन्दा राजस्वलाई महत्त्व दिएका कारण विदेशी बीउ नेपाली बजारमा पाइएको रिब्दीकोट गाउँपालिकाको देउरालीका अगुवा कृषक खिमानन्द पोखरेल बताउँछन् ।
पहिले जमिन अहिले जस्तो खण्डीत थिएन । जनसङ्ख्या कम थियो । अहिले जमिन टुक्रिँदै गयो । कम जमिनमा बढी उत्पादन लिन सकिने भनेर विदेशी गैरसरकारी संस्था प्रवेश गरे उनैले खेती गरेर देखाए अन्ततः कृषक पनि आकर्षित भए परन्तु अहिले हाम्रो मुलुकबाट पुराना बीउ पूर्ण रूपले लोप भए ।
उत्पादन त स्थानीय बीउको तुलनामा ४ गुणा बढी भए पनि स्वादमा पुरानालाई नयाँ बीउले भेट्न नसक्ने मदनपोखराका पुराना कृषक नगेन्द्र राज पाण्डे बताउँछन् ।
बीउ त धानको मात्र होइन ? सबै प्रकारका तरकारीका बीउ पनि अहिले हराएर गए । बारीमा कहिल्यै रोप्नै नपर्ने डल्ले तीतो करेला अहिले पूर्ण रूपले हराएर गयो । ५ देखि ७ के.जी सम्मको तौल हुने अत्यन्तै स्वादिलो बास्नादार काउली पनि हरायो ।
अहिले त्यसको विकल्पमा एक लाख रुपैैयाँ प्रति के.जीको बीउ बजारमा उपलब्ध छ । अत्यन्तै लाजलाग्दो कुरा हो ।कृषि प्रधान देशमा बीउमा परनिर्भरता एक वर्ष आयातित बीउ बन्द भए हाम्रो मुलुकको ९० प्रतिशत जमिन बाँझो हुने अवस्था रहेको तानसेन नगरपालिका दमकडाका एक प्रसाद भण्डारी बताउँछन् ।
बन्दा काउली, मुला, भ्यान्टा दलहन, तेलहन सबै हाम्रा पुराना बीउहरू हराए । अब खोजेर पनि नपाइने अवस्था आएको उनी बताउँछन् ।
बीउ खाद्य सुरक्षाको मुख्य आधार हो त्यसैले भन्दछन् ‘अनिकालमा बीउ जोगाउनु हुलचालमा जिउ जोगाउनु’ भनेर हाम्रा पुराना पुस्ताले त्यसै भनेको होइन रहेछ ।
बीउ सुरक्षित नभए सम्म वाली सुरक्षित हुँदैन । खाद्य सुरक्षाको पनि प्रत्याभूति नहुने कृषि प्राविधिकहरू बताउँछन् । खाद्यान्न बालीको तुलनामा तरकारी बालीको बीउ विदेशी नै हो । ९८ प्रतिशत बीउ त विदेशी बीउको विदेशी हो ।
हाम्रो माटो, हावापानी अनुकूलको बीउको पर्याप्त मात्रामा यही नै उत्पादन गर्न सम्भव भए पनि राज्यको प्राथमिकता उत्पादनमा भन्दा आयातमा परेका कारण पर निर्भरता बढ्दै गएको बीउ बिजन बिक्रेता विष्णु भण्डारी बताउँछन् । बन्दा, गोभी, टमाटरको बीउमा सत प्रतिशत आयातित बीउमा पूर्ण रूपमा परनिर्भरता हो ।
बीउ जस्तो खाद्य सुरक्षाको आधारशिलालाई बहुराष्ट्रिय कम्पनीले टिकाउनु कहिल्यै राष्ट्रिय स्वार्थ अनुकूल हुँदैन । यसले निम्त्याउने सबै भन्दा ठुलो डर पनि निर्भरता हो । यो बीउको कारण विदेशी कम्पनी सँग घुँडा टेक्नु बाहेक कुनै विकल्प नै छैन ।
यो क्रम प्रत्येक वर्ष बढ्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका एक प्राविधिकले बताए । आयातित बीउ बहुराष्ट्रिय कम्पनीले आफ्नो नाममा पेटेन्ट गराएको हुन्छ । नेपालले यसको प्रयोग गरे बापत प्रत्येक वार्षिक रूपमा एक निश्चित ठुलो रकम विदेशी कम्पनीलाई बुझाउनु पर्दछ ।
कृषिका जानकारका अनुसार यसरी विदेशी कम्पनीको बीउबाट बीउ हुँदैन, प्रत्येक वर्ष बजार मै निर्भर हुनुपर्दछ । स्वदेशी बीउमा भन्दा उत्पादन र उत्पादकत्व क्षमता बढी भए पनि यसको कुनै ग्यारेन्टी नहुने पछि क्षतिपूर्ति दाबीका लागि विदेशी कम्पनीसँग भिड्न कठिन हुनेछ ।
पछिल्लो समयमा विदेशी कम्पनीहरूको ठुलो चलखेल भएको र राज्यका मुख्य निकाय पनि मौन रहेका छन् । रासायनिक मलका लागि जति रकम बाहिरिन्छ त्यति नै रकम बीउको नाममा बाहिरिने गर्दछ ।