© २०२३
सल्यान, ९ मंसिर ।
यहाँको त्रिवेणि गाउँपालिकामा विकास निर्माणका योजनाहरूको सम्झौता गर्न र बैङ्क खाता खोल्न गाउँपालिका केन्द्रसम्म धाउनुपर्ने बाध्यता हटेको छ ।
त्रिवेणि गाउँपालिकाले यो वर्ष पनि वडामा सञ्चालित योजनाहरूको सम्झौता र बैङ्क खाता खोल्ने काम सोही वडा कार्यालयमै गरिदिएपछि उपभोक्ता समितिहरूको समय र आउजाउ खर्च दुवै बचत भएको छ ।
चालू आर्थिक वर्षमा पनि वडा स्तरमै योजना सम्झौता तथा बैङ्क खाता सञ्चालन शिविर सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
आइतबारदेखि वडा नम्बर ४ बाट यो काम थालिएको हो । पहिलो दिन नै करिब ४५ लाख बराबरका ८ वटा योजनाको सम्झौता सम्पन्न भएको योजना शाखा प्रमुख मोहन शर्माले जानकारी गराए ।
सम्झौता शिविरमा प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीको अगुवाइमा योजना शाखा, आर्थिक प्रशासन शाखा, भौतिक पूर्वाधार शाखा र भूमि सेवा शाखाका प्रमुख तथा अन्य कर्मचारीहरू खटिएका छन् । वडाध्यक्ष, वडा सदस्यहरू, वडा सचिवलगायतले पनि सहजीकरण गरेका छन् ।
“कतिपय ठाउँमा यातायातको सुविधा पनि सहज छैन । साना योजनाको सम्झौताका लागि पालिका केन्द्रसम्म आउनुपर्ने बाध्यता थियो, अब त्यो सकियो,” वडा नम्बर ४ का अध्यक्ष छविराज शर्माले भने ।
टाढाबाट आउने सेवाग्राहीहरू कर्मचारी फिल्डमा गएको बेला खाली हात फर्कनुपर्ने समस्या पनि हटेको प्रमुख प्रशासकीय अधिकृत खुमबहादुर केसीले जनाए । वडामै एकै ठाउँबाट सम्झौता र खाता खोल्ने काम हुँदा स्थानीयले ठुलो राहत महसुस गरेका छन् ।
सबै वडाका योजना चाँडै सम्झौता गरेर समयमै कार्यान्वयन थाल्ने र वर्षको अन्त्यमा हुने चाप कम गर्ने लक्ष्य गाउँपालिकाको छ । सेवाग्राहीका समस्या हटाउँदै घरदैलोमै सेवा पुर्याउने र गुणस्तरीय, पारदर्शी विकास गर्ने उद्देश्य रहेको गाउँपालिका अध्यक्ष खिमबहादुर रावतले जनाए ।
उनले भने, “वडामै सम्झौता हुँदा उपभोक्ता समितिलाई आउजाउको झन्झट र खर्च दुवै कम हुन्छ । समयमै काम सुरु गरेर समयमै सक्न पनि यो व्यवस्था गरिएको हो ।”