© 2026
समाचार सारांशमा
गुल्मीमा ३ नयाँ मतदान स्थल थप गर्न सिफारिस गरिएको छ ।
पुराना मतदान स्थल टाढा भएका कारण स्थानीय माग र सहमतिअनुसार नयाँ मतदान स्थल सिफारिस गरिएको हो ।
अति संवेदनशील मतदान स्थलहरूको निरीक्षण जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले गरिसकेको छ ।
गुल्मी, ०९ मङ्सिर ।
गुल्मीमा तीन वटा मतदान स्थल थप गर्नका लागि निर्वाचन आयोगमा सिफारिस गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको मतदान स्थल पुनरावलोकन समितिको सिफारिसमा उक्त मतदान स्थल थप गर्ने सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले जानकारी दिए ।
समितिले सिफारिस गरी पठाएका नयाँ थप गरिने मतदान स्थलहरूमा सत्यवती गाउँपालिका–६ वडा कार्यालय, मुसिकोट नगरपालिका–१ स्थित सेवा केन्द्र भवन र गुल्मी दरबार गाउँपालिका –१ स्थित नरहरी माध्यमिक विद्यालय रहेका छन् ।
मददाताहरूलाई साबिकको मतदान स्थलमा पुग्नका लागि घण्टौँ समय लाग्ने भएका कारण स्थानीय पालिकाको माग र राजनीतिक दलहरू सहितको सर्वपक्षीय बैठकले मददाताहरूलाई पायक पर्ने स्थानमा मतदान स्थल थप गर्ने निर्णय गरि आयोगमा सिफारिस गरेको हो ।
जिल्ला सुरक्षा समितिले जिल्लामा रहेका १४२ मतदान स्थलहरू मध्ये ४८ मतदान स्थल अति संवेदनशील, ५७ मतदान स्थल संवेदनशील र ३७ मतदान स्थललाई सामान्य गरी तिन भागमा वर्गीकरण गरेको जनाएको छ ।
त्यसै गरी मुसिकोट नगपालिका–४ मा रहेको मुसिकोट माविबाट जनता आधारभूत विद्यालय आरूपाटामा आंशिक रूपमा ५१६ जना मतदाताहरूलाई सार्नका लागि समितिले आयोगमा सिफारिस गरेको छ ।
भौगोलिक कठिनाइ, विगतमा निर्वाचनमा भएका गतिविधिहरू, सञ्चार सम्पर्क, यातायातको पहुँच, आपराधिक गतिविधि, दलहरू बिचको प्रतिस्पर्धा, सुरक्षा संवेदनशीलता लगायतका विषय र अवस्थालाई अध्ययन गरी मतदान स्थलको वर्गीकरण गरिएको जिल्ला सुरक्षा समिति अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।
समितिले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित ढङ्गबाट सम्पन्न गर्नका लागि केन्द्रीय सुरक्षा समितिको निर्देशन अनुसार काम गरिरहेको बताइएको छ । जिल्ला सुरक्षा समिति र निर्वाचन कार्यालयले अति संवेदनशील भनिएका मतदान स्थलको निरीक्षण र अवलोकन समेत गरिसकेको छ ।
दुई वटा निर्वाचन क्षेत्र रहेको गुल्मीमा एक लाख २० हजार ३६२ महिला, एक लाख २० हजार ६७३ पुरुष र अन्य २ गरी कुल दुइ लाख ४१ हजार ३७ मतदाता रहेका छन् । मतदाता नामावली सङ्कलन कार्यक्रममा जिल्लामा ७ हजार २६७ जना सहभागी बनेका छन् ।
नयाँ मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गराउने मध्य बायोमेट्रिकबाट २८ सय २३ जना र राष्ट्रिय परिचयपत्रबाट ४ हजार ६२१ जना रहेको जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकारी ऋषिराम घिमिरेले जानकारी दिएका छन् ।
यस अघिको निर्वाचनमा जिल्लामा १४२ वटा मतदान स्थल र २८० मतदान केन्द्र रहेका थिए ।