Butwal Today

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम २० मंसिरदेखि सुरु हुने

८ मंसिर २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, ८ मंसिर ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम २० मंसिरबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगले स्वीकृत गरेको कार्यतालिका अनुसार समानुपातिक निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया २० मंसिरदेखि औपचारिक रूपमा अघि बढ्नेछ ।

आयोगका अनुसार २१ मंसिर बिहान १० बजेदेखि २३ मंसिर दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्न सक्नेछन् । त्यस्तै, दलहरूले पेश गरेका निवेदनहरूको नामावली २४ मंसिर बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म प्रकाशन गरिनेछ ।

राजनीतिक दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेश गर्नुपर्नेछ । पेश भएका बन्दसूचीको अन्तिम प्रकाशन २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेभित्र गर्ने कार्यक्रम आयोगले तय गरेको छ ।

स्वीकृत कार्यतालिका अनुसार समानुपातिक निर्वाचनअन्तर्गत मतदान २१ फागुन बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रहरूमा हुनेछ ।