© २०२३
काठमाडौं, ८ मंसिर ।
प्रधानमन्त्री सुशीला कार्की विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारीमा जुटेकी छन् । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन उनी दलका शीर्ष नेताहरूसँग छलफलमा जुटेकी हुन् ।
स्रोतका अनुसार, दलका दोस्रो तहका नेता र नागरिक समाजका केही अगुवाहरूले प्रधानमन्त्री कार्कीसँग शीर्ष नेताहरूको भेटवार्ता मिलाउन पहल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतले बताएका छन् कि विभिन्न दलका शीर्ष नेताहरूसँग वार्ताको तयारी भइरहेको छ । तर, कुन–कुन दलका शीर्ष नेतासँग वार्ता हुने हो भन्ने खुलाइएको छैन ।
‘छलफल चलिरहेको छ । एकसाथ भेट्ने कि अलग–अलग भेट्ने भन्ने विषय छलफलकै क्रममा छ,’ प्रधानमन्त्री कार्यालयका स्रोतले भने । ‘राजनीतिक दलका दोस्रो तहका नेताहरू र उहाँहरूसँग निकट नागरिक समाजका प्रतिनिधिहरू विभिन्न तवरले सूचना आदानप्रदान गरिरहेका छन् ।’
शीर्ष नेतासँगको छलफलका लागि प्रधानमन्त्री कार्कीले यही साताभित्रै निम्तो पठाउन सक्ने स्रोतको दाबी छ । ‘यही हप्ताभित्र निम्तो जान्छ कि भन्ने हिसाबले कुरा भइरहेको छ, तर मिति अझै तय भएको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भने ।