Butwal Today

विद्यालय नतिजा मूल्याङ्कन गर्न निगरानी समूह 

८ मंसिर २०८२, सोमबार
अ+
अ-

पाल्पा, ०८ मङ्सिर ।

तीन छोरीकी आमा हुन् ज्ञानु रतन । श्रीमान् सालिकराम वर्षौँ भयो भारतको पन्जाब–अमृत सहरमा कोठीमा भान्सेको काम गर्न थालेको ।

उनी मुस्किलले वर्षमा एक पटक आफ्नो गाउँ, पाल्पा, माथागढी–२,रुप्सेतिर भिड्किन्छन् । ज्ञानु र सालिकरामका जेठी छोरी अनिषाले १२ पास भएर पनि आर्थिक अभावले दुई वर्ष गाउँमै आमासँग घरधन्दा गर्दै बिताइन् ।

२०८२ सालदेखि दमकडामा रहेको माण्डव्य बहुमुखी क्याम्पसमा विएड् प्रथम वर्षमा भर्ना भइन् । क्याम्पसको पोसाक, मासिक शिक्षण शुल्क, डेरा भाडा, छुट्टै खानपिनका लागि पहिलो वर्षका निम्ति जेनतेन जोहो गरे पनि अर्को वर्ष कसरी धान्ने होला मनमा पिरलो र मस्तिष्कमा गाँठो परेको ज्ञानुले सुनाउँदै थिइन् ।

माईली छोरी उषाले समेत १२ पास गरेर साथीको सहारामा बुटवलतिर कामको खोजीमा लागेकी छिन् । कान्छी छोरी सीमाले गाउँकै कर्णधार माविमा पाँच कक्षा पढ्दै छिन् ।  ज्ञानुले जीविकोपार्जनका लागि सामाजिक स्रोत विकास केन्द्र, नेपाल, पाल्पाबाट २० हजार अनुदान पाइन् ।

सो पैसामा केही ऋण थपेर दुई वटा पाडा पाडी खरिद गरिन् । गोठ बनाइन् । असम उनले पाडा बेचेर ३० हजार ६०० रुपैयाँ पारिन् । १० महिना पालेर ८ हजार कमाइन् । पाडी,माउमा परिणत भएर ब्याएपछि दूध बेच्ने रहर उनको मनमै छ ।

ज्ञानुले नयाँ लुगा सिलाउन त जान्दिनन् तर उध्रेका र फाटेका लुगा सिलाएर घर खर्चमा सहयोग जुटाएकी छिन् । उनको घरमा पुग्दा फाटेका लुगा खुट्दैथिईन् । फरासिली ज्ञानुले माईती गाउँ,पाल्पा, रम्भाको धोबादीमा आठ कक्षासम्म पढेपछि माईतीको कमजोर आर्थिक अवस्था र अज्ञानताले १९ वर्षकै उमेरमा २३ वर्षका सालिकरामसँग लगनगाँठो कसेकी रहेछिन् । उनी अति नै टाढी छिन् ।

यति बेला उनी कर्णधार निगरानी समूहकी अध्यक्ष छिन् । उनले आफ्नो कर्णधार माध्यमिक विद्यालयमा नियमित अध्ययन, अध्यापन भए नभएको, विद्यार्थी र शिक्षकको उपस्थिति नियमित रहे नरहेको, अभिभावकहरूले विद्यार्थी र विद्यालयको चासो राखे, नराखेको विषयमा छलफल चलाउँदा रहेछिन् ।

विद्यालय बाहिर निगरानी समूह बनाएपछि विद्यार्थीको पढाइमा प्रगति भएको, विद्यार्थीको नियमित उपस्थिति अनि विद्यार्थी भर्ना सङ्ख्या बढेको, स्कुल छाड्ने दर घटेको, अभिभावकमा विद्यालयप्रतिको चासो बढेको, विद्यालयको शैक्षिक–भौतिक संरचना निर्माणमा मद्दत पुगेको अध्यक्ष ज्ञानुले बताइन् ।

उनका अनुसार २०८१ को एसइईमा आफ्नो विद्यालयले माथागढी गाउँपालिकामा नै सर्वोकृष्टता हासिल गरेको सुनाइन् । उत्तीर्ण विद्यार्थी र पास गराउने शिक्षक र सहयोगी अभिभावकका सम्मानमा पञ्चेबाजा, फूल माला र अबीर जात्रा गरी गाउँ परिक्रमा गरेको सुनाउँदा उनको अनुहार हँसिलो र उनी उत्साहित देखिन्थिन् ।

सुरुसुरुमा निगरानी समूह बनाएर विद्यालय जाँदा अप्ठ्यारो लाग्थ्यो तर अचेल विद्यालयले नै बैठक,कार्यक्रममा बोलाउँदा खुसी लाग्ने ज्ञानुले बताइन् । १५ जनाको निगरानी समूह बनाएर २०८० सालदेखि गतिशील ज्ञानुहरूले विद्यालयको शैक्षिक–भौतिक र सामाजिक परिवेशलाई सुधार गर्न कुनै कसर बाँकी राखेका छैनन् ।

विद्यालय व्यवस्थापन समिति,शिक्षक अभिभावक सङ्घ रहँदा रहँदै किन चाहिने रहेछ निगरानी समूह भन्ने जिज्ञासामा सो समूह गठनका लागि उत्प्रेरित गर्ने संस्था सामाजिक विकास स्रोत केन्द्र,नेपाल,पाल्पाका पूर्व टीमलिडर चोपलाल गिरी भन्छन्– त्यी समितिहरू राजनीतिक भागबन्डामा गठन हुने गर्छन् ।

प्रअका एजेन्डामाथि छलफल हुन्छन् तर विद्यार्थी र अभिभावकका विषयवस्तुले प्रवेश नै पाउँदैनन् । शिक्षण–सिकाई र शैक्षिक समस्या अनि मुद्दामा समिति अनभिज्ञ हुने गर्छन् । निगरानी समूह नितान्त अभिभावकहरूको समूह हो ।

यसले विद्यालयलाई मासिक रूपमा विद्यार्थी र विद्यालयका दुई वटा राम्रा पक्ष र दुई वटा सुधारका पक्षहरू पेस गर्छ । विद्यालयको सर्वपक्षीय हितका लागि अनौपचारिक समूह भएता पनि जिम्मेवारीका हिसाबले सशक्त समूह मान्न सकिन्छ तर पनि कहिलेकाहीँ विद्वत शिक्षकहरूले निरक्षर वा सामान्य लेखपढ अभिभावकहरूद्वारा आफ्नो निगरानी हुनु उत्तम ठान्दैनन् ।

कर्णधार माविमा विद्यार्थी सङ्ख्या घट्दै गएको,समुदायको चासो कम रहेको र सरोकारवालाहरूले विद्यालयप्रति चिन्तन कम गरेपछि विद्यालयको उन्नति हुन नसकेको सबैलाई थाहा भएपछि आफूहरू कस्सिएर विद्यालयलाई आजको अवस्थामा ल्याउन सकेको माथागढी–२,रुप्सेकी वडा सचिव सरस्वती पन्थले बताइन् ।