© २०२३
बुटवल, ०८ मङ्सिर ।
बुटवलमा सम्पन्न जिल्ला स्तरीय एन्फा यु–१४ अन्तर विद्यालय (छात्र/छात्रा) फुटबल प्रतियोगिताको उपाधि नवीन औद्योगिक मावि (छात्र) र कुवँरवर्ती बोर्डिङ स्कुल (छात्रा) ले चुमेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को सहयोग, रुपन्देही जिल्ला फुटबल सङ्घको आयोजनामा आइतबार भएको दुई फाइनलमा नवीन औद्योगिक माविले न्यु होराइजनलाई ७–० गोल तथा कुवँरवर्तीले सिद्धार्थ बोर्डिङ स्कुललाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा नवीनको जितमा निशाल चौधरी र प्रमेश चोलामी मगरले ह्याट्रिक गरे । एकतर्फी खेलमा चौथो मिनेटमा नवीन औद्योगिक माविका निशान चौधरीले खाता खोले । उनले खेलको ११, ३१ औ मिनेटमा गोल गर्दै हयाट्रिक पुरा गरे ।
चौधरीले ४३ औं मिनेटमा थप गोल गरे । यसै गरी ३३, ५३ र ५४ औ मिनेट प्रमेश चोलामीमगरले गोल गरे । यता छात्रातर्फ भएको खेलमा कुवँरवर्तीको जितमा वर्षा सुनारले ह्याट्रिक गरे ।
उनले खेलको ११, ४० र ४२ औ मिनेटमा गोल गरिन । सिद्धार्थकी लक्ष्मी थापाले पेनाल्टीमा सान्त्वना गोल गरिन । प्रतियोगितामा छात्रतर्फ सिद्घार्थका विशाल बिक हाईस्कोरर, नवीनका अजय भण्डारी बेष्ट गोलिकपर तथा नबिनकै प्रमिश चोलामीमगर भ्यालुवेयवल खेलाडीको घोषित हुँदै पुरस्कृत भए ।
छात्रातर्फ कुवँरवर्तीकी वर्षा सुनार हाइस्कोरर तथा भ्यालुवेयवल खेलाडी तथा सिद्धार्थकी प्रकृति थापा बेष्ट गोलिकपरबाट पुरस्कृत भइन ।
नवीनले उपाधिसँगै नगद ४० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो ।
उपविजेता न्यु होराईजन भने नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट चित्त बुझायो । कुवँरवर्तीले उपाधिसँगै नगद २० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो भने उपविजेता सिद्धार्थ भने नगद १० हजार रुपैयाँ, शिल्ड, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
एक समारोहका बिच अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घ बहादुर केसी, जिल्ला अध्यक्ष लोक पुन, खेल संयोजक बुद्धि गुरुङले विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरे ।