© २०२३
बुटवल, मंसिर ८ ।
जेन्जी आन्दोलनपछि भदौ अन्तिममा सकिएको लुम्बिनी प्रदेशको वर्षे अधिवेशनपछि सबा दुई महिनामा हिउँदे अधिवेशन बस्न लागेको छ । यसअघि सरकारले बिजनेस दिन नसकेको भन्दै प्रदेश सभा सदस्यहरुले आलोचना गरेकाले अहिले केही तयारी गरे पनि हिउँदे अधिवेशनका लागि पर्याप्तता अझै भएको छैन ।
प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आजबाट शुरु हुँदैछ । सातौँ अधिवेशनको पहिलो बैठक दिउँसो १ बजे बस्दैछ । प्रदेश सभा सचिव दुर्लभ कुमार पुनमगरका अनुसार बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ । कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीनवटा पत्र पढेर सुनाउने छन् । ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठनबारे पत्र र छैटौँ अधिवेशनबाट पारित भई प्रमाणीकरण भएका विधेयकसम्बन्धी पत्र समावेश छन् ।
बैठकमा सभामुखले माननीय सदस्यहरूको उपस्थिति–अनुपस्थितिको जानकारी पेस गर्नेछन् । त्यसपछि दलका तर्फबाट प्रदेश सभा सदस्यहरूले शुभकामना मन्तव्य राख्ने कार्यक्रम रहने सचिव पुनमगरले बताए । हिउँदे अधिवेशनका लागि छलफल गर्न प्रदेशसभा सचिवालयमा जिल्ला सभा तथा जिल्ला समन्वय समिति सञ्चालन सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूको सुबिधासम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक दर्ता भइसकेका छन् । प्रदेश मन्त्रिपरिषद् बैठकबाट थप विधेयकहरु प्रदेशसभामा पेश गर्नकालागि स्वीकृति दिएको छ ।
लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक, प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक, दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक पेश गर्न सरकारले स्वीकृत दिएको हो । लुम्बिनीमा गत भदौ ३१ गते छैटौँ अर्थात वर्षे अधिवेशन अन्त्य भएको थियो ।
सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ को दफा ११९ को अधिकार प्रयोग गरी पदेश सरकारले बाधा अड्काउ फुकुवा गरी निर्देशनालयले गर्नुपर्ने अत्यावश्यक कार्य निर्देशनालय गठन नभएसम्मका लागि उद्योग, पर्यटन तथा यातायात मन्त्रालयबाट सम्पादन गर्नेगरी निर्णय गरिएको हो । सो मन्त्रालयकै तर्फबाट लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न अनुमति दिने निर्णय भएको भौतिक पूर्वाधार तथा विकास मन्त्री भूमिश्वर ढकालले जानकारी दिए ।
कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक प्रदेश सभामा पठाउन बैठकले स्वीकृति प्रदान गरेको छ । सामाजिक विकास मन्त्रालयबाट दलित समुदायको अधिकार सुनिश्चित गर्ने विधेयक तथा अपाङ्गता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमसम्बन्धी कार्यविधि, २०८२ पनि बैठकले पारित गरेको छ ।
यस्तै, बैठकले भीम अस्पतालमा सरुवा भएका कन्सल्टेन्ट डेन्टल सर्जन डा. वर्षा थापालाई मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै शिवराज नगरपालिकाको हाटबजार व्यवस्थापनका लागि जग्गा प्राप्तिमा सहजीकरण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।
सभामुख तुलाराम घर्तीमगरले आजबाट शुरु हुने प्रदेश सभा ५ दिन नियमित गर्ने संकेत गरेका छन् । ‘केही बिजनेस प्रदेश सभामा आइसकेका छन्, केही सरकारले तयारी पनि गरेको हो, अहिले केही सांसदहरुले विशेष समय लिएर बोल्ने पनि होला, त्यसैले लगातार ५ दिन जति चलाउने र त्यसपछि समय मिलाउने योजना छ, हेरौँ के हुन्छ,’ उनले भने ।