© २०२३
काठमान्डौ, ८ मंसिर ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी प्रतिनिधि सभा निर्वाचनमा पार्टी टिकट वितरणमा सभापति शेरबहादुर देउवाको हस्ताक्षर नहुने स्पष्ट पारेका छन् ।
थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “बिहानदेखि धेरै साथीहरूले सोधिरहेका छन्—‘पार्टीले वर्तमान सभापतिज्यूकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो ?’ मैले भनेँ, होइन । विधान बमोजिम समयमै विशेष महाधिवेशन हुनेछ । त्यहीँबाट नयाँ सभापति निर्वाचित हुन्छन् । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यही हस्ताक्षरमा पार्टी चुनाव लड्छ ।”
थापाले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुने भएकाले निर्वाचनअघि विशेष महाधिवेशन अनिवार्य रहेको पनि स्पष्ट पारे । उनले भने, “यही कारण हो हामीले निर्वाचन अगाडि नै महाधिवेशन तय गरेका हौं । अब विशेष महाधिवेशनको विकल्प छैन । कुरा स्पष्ट छ, अलमलमा नपर्नु ।”
हाल कांग्रेसभित्र विशेष महाधिवेशन वा नियमित महाधिवेशनको विषयमा सहमति जुट्न सकेको छैन ।