© 2026
काठमाडौं ।
जेन–जी मुभमेन्ट नामक समूहले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले जनविश्वास गुमाएको आरोप लगाउँदै तत्काल राजीनामाको माग गरेको छ। राजीनामा नदिए देशवासीलाई सरकारलाई बहिष्कार गर्न अपिल गरिएको छ।
समूहले आज जारी गरेको विज्ञप्तिमा सरकार गठन भएको छोटो समयमै मन्त्रीहरू विभिन्न काण्डमा मुछिन थालेको उल्लेख छ। भदौ २४ गतेको आन्दोलनका क्रममा युवालाई उद्देलित गर्ने कार्य प्रधानमंत्री सुशीला कार्की र ओमप्रकाश अर्यालबाट भएको दाबी पनि विज्ञप्तिमा गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “उनीहरूले जानी–जानी राज्यविहीनता र अराजकतापूर्ण वातावरण सिर्जना गर्दै राजनीतिक कु मार्फत सत्ता कब्जा गर्ने योजना बनाइरहेको कुरा अब देशवासीले स्पष्ट देखिसकेका छन्। जनताले उनीहरूको वास्तविक उद्देश्य बुझिसकेका छन्।”
जेन–जी मुभमेन्टले देशलाई थप अस्थिरता र अराजकतामा धकेल्ने काममा प्रधानमन्त्री सुशीला कार्कीको समूह सक्रिय रहेको आरोप लगाएको छ। विज्ञप्तिअनुसार सरकार संवैधानिक वैधताविहीन मात्र नभई यसको राजनीतिक, नैतिक र जनसमर्थन दुवै अन्त्य भइसकेका छन्।
समूहले कार्कीलाई तत्काल राजीनामा दिन, जेन्जी आन्दोलनको भावना र जनआकांक्षामाथि कुठाराघात नगर्न आग्रह गरेको छ। साथै सत्ता कु मार्फत बनेको भन्दै कार्की सरकार र मन्त्रीपरिषदलाई सार्वजनिक रूपमा बहिष्कार र अवज्ञा गर्न नागरिकलाई आह्वान गरेको छ।
उक्त विज्ञप्तिमा प्रवक्ता विजय साहको हस्ताक्षर रहेको छ।
