© २०२३
काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचन दुई कारणले सर्न सक्ने बताएका छन् ।
जेनजी प्रदर्शनको क्रममा ध्वस्त भएको इलामस्थित कांग्रेस पार्टी कार्यालय अवलोकनपछि नेता–कार्यकर्तालाई सम्बोधन गर्दै उनले चुनाव केही पछि सर्न सक्ने कारणहरू उल्लेख गरेका हुन् ।
शर्माले पहिलो कारण निर्वाचनका लागि शान्तिपूर्ण वातावरण नबन्नु र चुनाव तोकिएको समयमा हिमाली क्षेत्रमा मौसम प्रतिकूल हुने बताए ।
‘समानुपातिकको सूची बुझाउने मिति या फागुन २१ कै चुनाव पनि केही पछि सर्न सक्छ । शान्तिपूर्ण वातावरण बन्नुपर्ने आवश्यकता र हिमाली क्षेत्रको मौसमी प्रतिकुलता दृष्टिगत गरेर थोरै पछि सर्न सक्ने सम्भावनालाई राजनीतिक सहमतिमार्फत हल गर्नु उत्तम,’ शर्माले भने ।
त्यसैगरी, शर्माले पार्टीको विशेष महाधिवेशन र महाधिवेशनसम्बन्धी विषयमा पनि नेताहरूलाई सम्बोधन गरेका छन् । उनले महाधिवेशनका लागि दुई विकल्प रहेको उल्लेख गर्दै, विशेष महाधिवेशन सम्भव भए पनि त्यसका लागि सबै एक भएर लाग्नुपर्ने बताए ।
‘पहिलो विकल्प– पुसको अन्तिम साताका लागि नियमित महाधिवेशन गर्नेगरी अबको बैठकबाट कार्यतालिका निर्माण गर्ने,’ उनले भने । ‘महाधिवेशन तयारी क्रममा समय नपुग्ने अवस्था देखिए थप १५ दिन समय लिएर महाधिवेशन सम्पन्न गर्ने ।’
दोस्रो विकल्पको रूपमा उनले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको मागलाई सम्बोधन नगरी पार्टी अघि बढ्न नसक्ने बताए ।
‘दोस्रो विकल्प– पार्टीका आदरणीय सभापतिज्यूले देशको परिस्थिति, पार्टीको अवस्था र समयको चाप बुझेर `सुवर्ण शमशेर पथ´ पछ्याउन सक्नुहुन्छ भन्ने मलाई लाग्छ । त्यो भनेको ०१४ सालमा झैं स्वयं सभापतिले मार्गप्रशस्त गर्ने हो,’ उनले भने ।
‘यसले एकातर्फ पार्टीले निकास पाउँछ, अर्कोतर्फ उहाँको सम्मान र अभिभावकत्वको भूमिका उचाइमा पुग्नेछ । ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई सम्बोधन नगरी पार्टी अघि जान सक्दैन । तब ०८२ मंसिर मसान्तमा विशेष महाधिवेशन र ०८३ मंसिरमा नियमित महाधिवेशन गर्न सकिनेछ ।’