गुल्मी, ०८ मङ्सिर ।
गुल्मी जिल्लामा आर्थिक वर्ष २०८१/०८२ मा चार अर्ब भन्दा बढीको पशुजन्य उत्पादन भएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा मासु, दूध र अण्डा गरेर चार अर्ब ५९ करोड २९ लाख रुपैयाँ भन्दा बढीको पशुजन्य उत्पादन भएको हो ।
जस अन्तर्गत एक अर्ब ८४ करोड ३८ लाख रुपैयाँको दूध उत्पादन भएको छ । गुल्मी पशुजन्य क्षेत्रमा आत्मनिर्भर बन्दै जान थालेको छ । यहाँका किसानहरू पछिल्लो समयमा व्यावसायिक रूपमा पशुपालन क्षेत्रतिर आकर्षित हुँदै जान थालेका छन् ।
यसबाट किसानहरूमा समृद्धिको आशा जगाउन थालेको छ । पहाडी जिल्लाहरूमा ठुला उद्योग तथा कलकारखानाहरू नहुने भएका कारण पशुपालन क्षेत्र किसानहरूका लागि समृद्धिको मुख्य आधार बन्दै जान थालेको हो ।
किसानहरूले गाईको तुलनामा भैँसीको दूध उत्पादनमा बढी जोड दिन थालेका छन् । दूध उत्पादन मध्य गाईको दूध छ हजार तिन सय ८१ मेट्रिकटन र भैँँसीको दूध १६ हजार चार सय ३७ मेट्रिकटन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेयले बताए ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा २.५१ प्रतिशतले दूधको उत्पादनमा वृद्धि भएको छ ।
अहिले जिल्ला बाहिर दैनिक पन्ध्र सय लिटर दूध निर्यात गरिँदै आएको छ । जिल्लामा अन्य पालिकाहरूको तुलनामा सत्यवती र रुरुक्षेत्र गाउँपालिकामा रहेका फर्मबाट धेरै मात्रामा दूध उत्पादन हुँदै आएको छ ।
किसानहरूले उत्पादन गरेको दूध स्थानीय सहकारी र प्राइभेट डेरीमा सङ्कलन हुँदै आएको छ । उक्त सङ्कलित दूध स्थानीय बजारमा खपत भएर बाँकी रहेको दूध, रुपन्देही र पोखरा पठाउने गरिएको छ ।
यसै गरी गुल्मीमा राँगा, खसी बोका, कुखुरा, सुँगुरबँगुर तथा भेडागरि दुई अर्ब ५८ लाख २३ हजार रुपैयाँ बरावरको मासु उत्पादन हुने गरेको कार्यालय प्रमुख पाण्डेले बताए ।
गत आर्थिक वर्षमा जिल्लाबाट पन्ध्र हजार खसी बोका, एक हजार नौ सय राँगाभैंसी र पाँच लाख ४७ हजार पाँच सय लिटर दूध जिल्ला बाहिर निर्यात भएको कार्यालयले जनाएको छ ।