© २०२३
काठमान्डौ, ८ मंसिर ।
नेपालले आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८०५ गिगावाट–आवर विद्युत भारतमा निर्यात गरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव चिरञ्जीवि चटौतले सोमबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा नेपालले विद्युत् उत्पादन, आयात–निर्यात र ऊर्जा क्षेत्रका प्रगतिका तथ्यांक प्रस्तुत गरे ।
सचिव चटौतका अनुसार मनसुन अवधिमा पर्याप्त विद्युत् उत्पादन भएकोले आयात न्यून भयो । यस अवधिमा नेपालले जम्मा २.८ गिगावाट मात्र विद्युत् आयात गरेको थियो ।
उनले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा ८६ मेगावाट थप उत्पादन क्षमता उपलब्ध भएको जानकारी दिँदै ६६ केभी माथिल्लो भोल्टेजमा ३६ किलोमिटर र ३३ केभीमा १३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको बताए ।
ऊर्जा क्षेत्रका योजनामा बजेट खर्च र प्रगतिबारे जानकारी दिँदै सचिव चटौतले भने, “ऊर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँमध्ये हालसम्म १५.१६ प्रतिशत मात्र खर्च भएको छ । नेपाल विद्युत प्राधिकरणका लागि विनियोजित ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँमध्ये ६.५४ प्रतिशत मात्र प्रगति भएको छ ।”
विद्युत् व्यापारमा उत्पादन क्षमता विस्तार गर्दै निर्यात बढाएको उल्लेख गर्दै उनले वार्षिक मनसुन अवधिमा देश न केवल स्वावलम्बी, तर निर्यातकर्ता बन्न सक्षम भएको बताए ।